कास्की मोडर्नाइज्ड एकेडेमी र माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुलले १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सोमबार भएको फाइनलमा छात्रतर्फ कास्की मोडर्नाइज्ड र छात्रातर्फ माउन्ट अन्नपूर्ण च्याम्पियन बनेका हुन् ।
पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा कास्की मोडर्नाइज्डले बाल कल्याणलाई ५९–४६ अंकले हरायो । छात्रातर्फको फाइनलमा माउन्ट अन्नपूर्णले टप्स बोर्डिङलाई ३१–२४ ले पछि पा¥यो ।
उपाधिसँगै विजेता कास्की मोडर्नाइज्ड र माउन्ट अन्नपूर्णले समान १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पारे । उपविजेता टप्स बोर्डिङ र बाल कल्याणले समान ८ हजार, ट्रफी र प्रमाणपत्र पुरस्कार पाए ।
छात्रतर्फ कुमुदिनी होम्स र छात्रातर्फ कास्की मोडर्नाइज्ड तृतीय बने । सोमबार नैे तेस्रो स्थानका लागि भएको खेलमा छात्रतर्फ कुमुदिनी होम्सले ग्लोबल कलेजियटलाई ३८–१५ ले हरायो । छात्रातर्फको खेलमा कास्की मोडर्नाइज्डले सरस्वती आदर्श विद्याश्रममाथि १३–१० को रोचक जित निकाल्यो ।
कास्की मोडनाईज्ड र कुमुदिनी होम्सले समान ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य राजेशकुमार गुरुङ, नेपाल ओलम्पिक कमिटीका वरिष्ठ उपाध्यक्ष तेजबहादुर गुरुङ, गण्डकी प्रदेश सांसद मोहनप्रसाद रेग्मी लगायतले विजयी टिम तथा खेलाडीलाई पुरस्कार वितरण गरे ।
छात्रतर्फ कास्की मोडर्नाइज्ड एकेडेमीका मदन गुरुङ र छात्रातर्फ माउन्ट अन्नपूर्णकी सायमी गुरुङ प्रतियोगिताका ‘बेस्ट प्लेयर’ घोषित भए । उनीहरुले ट्रफी पाए । राखेप सदस्य सचिव र सिलवालले पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा दर्शक अट्ने प्यारापिटको निर्माण छिट्टै गर्ने उद्घोष गरे । सिलवालले १ वर्षपछि पोखरामै हुने नवौं राष्ट्रिय खेलकुदतर्फ परिषदको ध्यान गएको जनाए ।
पोखरा खेलकुदको हब बन्ने बताउँदै उनले यहाँ बाँकी रहेका खेलकुदका सबै भौतिक संरचनाक निर्माण गर्ने प्रतिबद्धता जनाए । यहाँको खेलकुद भौतिक संरचना निर्माण गर्न आफ्नो बसाइ पोखरा नै हुने सिलवालको भनाइ छ । उनले भने, ‘खेलकुद विकासका लागि मैले पोखरालाई डेरा बनाएको थिएँ । यहाँ अब मेरो घर नै हुनेछ ।’




