‘प्रदेशको शान, पोखरेलीको पहिचान’को बनेको चिडियाखाना पोखरा महानगरमा बन्दै छ । चिडियाखाना निर्माणको अगुवाई गर्ने युनाइटेड क्लब पोखरा भने अहिले १० औं पोखरा महोत्सवमा केन्द्रीत छ ।
महोत्सवबाट भएको बचतमध्ये २० प्रतिशत चिडियाखाना बनाउन लगानी गरेको क्लबले अहिलेसम्म यसका लागि ५५ लाख ८५ हजार हस्तान्तरण गरिसकेको छ । पोखरा महानगरपालिकाका वडा नम्बर ३०, ३१, र ३२ मा रहेका पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टरमा चिडियाखाना निर्माण भइरहेको छ ।
कास्कीको लोकप्रिय उत्सवका रुपमा परिचित पोखरा महोत्सवमा यसपालि राष्ट्रिय महिला भलिबल र विद्यालय स्तरीय सामूहिक नृत्य प्रतियोगिता पनि हुने भएका छन् । यी प्रतियोगिता यो संस्करणको महोत्सवका आर्कषण बन्ने प्रचारप्रचार उपसमिति संयोजक शान्तबहादुर थापाले बताए ।
महोत्सवको मिडिया पार्टनर समाधान दैनिक बनेको छ । यससम्बन्धी सम्झौतामा प्रचारप्रचार संयोजक शान्तबहादुर थापा र समाधानका प्रबन्ध श्रीप्रसाद पोखरेलले आइतबार हस्ताक्षर गरेका छन् । महोत्सवको प्रमुख प्रमुख प्रायोजक हिमश्री फुड्स प्रालिको रारा चाउचाउले गर्ने तय भइसकेको छ ।
अमरसिंहचौरमा महोत्सव पुस २९ देखि माघ १२ गतेसम्म हुने महोत्सवबाट शिक्षा, स्वास्थ्य, खेलकुद पर्यटन प्रवद्र्धनका लागि योगदान हुने क्लबका अध्यक्ष लालकाजी गुरुङले बताए । पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा पहलकदमीका साथै सेती नदी संरक्षण र लोडसेडिङका वेला विभिन्न टोलमा सौर्य बत्ति जडान गरेको छ । क्लबले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विभिन्न विद्यालयमा छात्रवृत्ति कोषसमेत स्थापना गरेको छ ।
क्लबका महसचिव एवं महोत्सव प्रचारप्रसार उपसमिति संयोजक थापाले सामाजिक संस्थाले यस क्षेत्रको पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, खेलकुदको विकासका लागि गरेको महोत्सवमा सबैको सहयोग मिल्ने थापाले अपेक्षा गरे । उनले भने, ‘पर्यटन प्रवद्र्धन, सामाजिक दायित्व निर्वाह गर्दै आएको महोत्सवलाई सबैको साथ मिल्ने अपेक्षा गरेका छौं ।’
महोत्सवका ९५ प्रतिशत स्टल बुकिङ भइसकेका छन् । पर्यटन प्रवद्र्धन र पर्यटकीय स्थानका बारेमा जानकारी दिने स्टल निःशुल्क उपलब्ध गराइएको छ भने कृषि तथा हस्तकलाका स्टललाई विशेष छुट दिइएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभूषा संरक्षणमा टेवा पु¥याई शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितर्फ लैजाने अपेक्षा गरिएको छ ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकारको दोहोरी गीत प्रस्तुति, लाइभ कन्सर्ट, हांस्य व्यंग्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति, बाल उद्यान, झाँकी प्रतियोगिताका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछन् ।




