ताजा समाचार

मंसिर २९ गते २०७६

जनप्रिय क्याम्पस अध्यक्षमा तारा

जनप्रिय बहुमुखी क्याम्पस पोखराको सञ्चालक समितिको अध्यक्षमा तारा गिरी निर्वाचित भएका छन् ।

शनिबार भएको क्याम्पसको २१ औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी अध्यक्ष निर्वाचित भएका हुन् । गिरीले २ सय २७ मत ल्याएका थिए । उनले अध्यक्षका प्रत्यासी विष्णु बराललाई पराजित गरेका हुन् । सर्वसम्मत समिति छान्ने प्रयास भए पनि सहमति नजुटेपछि अध्यक्षका पदमा मात्रै निर्वाचन भएको थियो । बरालले १ सय ९९ मत पाए ।

५ सय ३७ सिनेटर रहेको क्याम्पसमा ४ सय ३२ मत खसेको थियो । ६ मत बदर भयो । नवनिर्वाचित अध्यक्ष गिरीले क्याम्पसले देखेको मानित विश्वविद्यालयको सपना साकार बनाउने प्रतिवद्धता गरे ।

सदस्यका आकांक्षी कमलराज सापकोटा र बलराम बरालले नाम फिर्ता लिएपछि सबै सदस्य सर्वसम्मत भए । सदस्यमा धु्रवराज चालिसे, वीरबहादुर अधिकारी, राजेन्द्र पहारी, सोमनाथ बराल, अर्जुन श्रेष्ठ, विश्वकुमार विजुक्छे, नम्रता बराल, देवकृष्ण पराजुली, किरण बराल, जनकराज पराजुली र ऋषभलाल तिमिला छन् ।

निर्वाचन समितिका संयोजक अधिवक्ता मुकुन्दराज अर्यालले यसै हप्ताभित्र सञ्चालक समितिका निर्वाचित अध्यक्ष र सदस्यहरूलाई पदस्थापन गराउने जनाए । निर्वाचन समितिका सदस्यमा श्रीकान्त शर्मा खतिवडा र कृष्णप्रसाद तिमिल्सिना थिए ।

क्याम्पस सञ्चालन नियमावली २०५४, छैटौं संशोधन २०६९ को नियम ६.३ अनुसार बसेको २१ औं साधारणसभामा आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित आयव्यय, कोषाध्यक्ष र क्याम्पस प्रमुख विरञ्जी गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए ।