पोखरा १७ मा के छ, के हुँदै छ ? (हेर्नुस् डकुमेन्ट्री )

पोखरा चिनाउने डेभिजफल, गुप्तेश्वर गुफा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सेतीमाथिको प्राकृतिक पुल पोखरा १७ मा छन् । अनेक आर्कषक प्राकृतिक सम्पदा रहेको पोखरा १७ कै डेभिजफलमा सिसाको पुल बन्ने क्रममा छ भने बन्जी जम्प र फिस्टेल ड्रिमपार्क निर्माणधीन छन् ।

पोखरा महानगरकै बढी जनसंख्या रहेको वडाले पर्यटन प्रवद्र्धन गर्दै वडावासीको समृद्धिको योजना बनाएको छ । वडाले निर्माण गरेको डकुमेन्ट्री महानगरका मेयर मानबहादुर जिसीले सार्वजनिक गरे । २२ मिनेटको डकुमेन्ट्री जोजास मिडिया प्रोडक्सनले बनाएको हो । इन्जिनियर ईन्जिनियर जगदीश पौडेल (स्वामी योगानन्द)को समूहले यसको निर्माण गरेको हो ।

मेयर जिसीले पोखरामा अनेक सम्पदा रहेको चर्चा गर्दै ती सम्पदाको समुचित उपयोग गरे समृद्धि चाडै हुने बताए । मेयर जिसीले भने, ‘अहिले जनताकै आँगनमा सरकार आएको छ । पोखराको विकास र पर्यटनका लागि निजी क्षेत्र र सरकारको योजनावद्ध सहकार्य आवश्यक छ ।’

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले वडाको योजनावद्ध विकास र पर्यटन प्रवद्र्धनलाई डकुमेन्ट्रीले सघाउने बताए । उनले वडाका सम्पदा, आकर्षण, पर्यटकीय गन्तव्यदेखि निर्माणाधीन संरचनाबारे पनि यसले जानकारी दिने उल्लेख गरे । अधिकारीले भने, ‘डकुमेन्ट्रीमा पोखरा १७ लाई चिनाउने स्थानको परिचयसहित वडा, महानगर, प्रदेश र संघ सरकारले अघि सारेका महत्वपूर्ण योजनाबारे पनि जानकारी दिएका छौं ।’

कार्यक्रममा पोखरा १७ का वडा सचिव ईश्वरीप्रसाद पोखरेलले पनि बोलेका थिए ।