पोखरा महानगरपालिका–९, नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पस संचालन समितिको अध्यक्षमा नरेन्द्र लालचन निर्वाचत भएका छन् ।
शनिबार भएको अधिवेशनले आगामी ३ वर्षका लागि लालचनको नेतृत्वमा ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।
यो पोखराकै पुरानो सामुदायिक क्याम्पस हो । संचालक समितिको अध्यक्षका लागि २ जनाले उम्मदेवारी दिएपछि निर्वाचन भएको थियो ।
अध्यक्षमा लालचन र जगत केसीले उम्मेदवारी दिएका थिए । मतदानमा लालचनले ६४ मत पाएका थिए । केसीले १९ मत पाए । ४ मत बदर भएको थियो । जम्मा ८७ मत खसेको थियो ।
अधिवेशनले अन्य ४ जना सदस्यलाई निर्विरोध चयन गरेको छ । संरक्षण सदस्यमा भीम गौतम, महिला सदस्यमा कुमारी मुना बाँस्तोला चुनिएकी छन् ।
यस्तै सुजन पराजुली, रवीन्द्र माकाजू र शंकर गुरुङ पनि सदस्यमा चुनिएका छन् । शनिबार निर्वाचित सदस्यमध्येबाट उपाध्यक्ष र कोषाध्यक्ष मनोनित हुनेछन् ।
क्याम्पसका संरक्षक, विशिष्ट आजीवन र आजीवन सदस्यले मतदान गरेको सहायक क्याम्पस प्रमुख अनुपमणि अधिकारीले बताए । केसी अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष थिए ।
निर्वाचित भएपछि अध्यक्ष लालचनले सामुदायिक क्याम्पसलाई सुविधासम्पन्न बनाउँदै शैक्षिक गुणस्तर बढाउन सक्दो मेहनत गर्ने बताए ।
सामुदायिक क्याम्पसलाई समुदायको मायाको खाँचो रहेको उनले बताए । क्याम्पसमा अहिले स्नातक तहमा अध्ययन हुन्छ । व्यवस्थापन र मानविकी संकायमा अध्यापन हुने अधिकारीले बताए ।
निर्वाचित अध्यक्ष लालचनलाई पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले बधाई दिएका छन् ।




