गरिमा विकास बैंक लिमिटेडको १३औं बार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।साधारणसभाले शेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनश शेयर र कर प्रयोजनाथ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।
साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ ।
साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए ।
हाल २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैंया चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित १६.१५ प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार पुगेको छ ।
साधारणसभाका लागि २०७६ मंसिर १३ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७६ मंसिर १२ गतेसम्म कायम विकास बैंकका शेयरधनीले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकका हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
बैंकको २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ ।




