जोमसोम–हिमाली जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा शुक्रबार बिहानै देखि परेको हिमपातले जोमसोम स्थित जनहित माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समिति पुर्नगठन गर्ने कार्यक्रम स्थगित भएको छ । सरकारबाट नमूना विद्यालयमा सुचिकृत उक्त विद्यालयको आगामी ३ वर्षिय कार्यकालको पदाधिकारी चयन कार्यक्रमलाई हिमपातले प्रभावित तुल्याएको हो ।
हिमपात भएसंगै विद्यालयमा शिक्षा नियमावलीले निर्दैशित अभिभावक नआएपछि समिति पूर्नगठन स्थगित गर्नुपरेको विद्यालयका प्राचार्य रामचन्द्र अधिकारीले जानकारी दिए ।
शिक्षा नियमावली अनुसार कम्तिमा १ सय २० जनाको संख्यामा अभिभावक उपस्थित नभए समिति पूर्नगठन गर्न नमिल्ने प्रावधान रहेकाले कार्यक्रम स्थगित गर्नु परेको विद्यालयले जनाएको छ । चालु वर्षको शैक्षिक सत्र संम्पन्न गर्ने चरणमा विद्यालयको व्यवस्थापन समितिको ३ बर्षिय पदावधि सकिएको हो । विद्यालयले समिति र शिक्षक अभिभावक संघको नया पदाधिकारी समेत चयन गर्ने कार्यक्रम रहेको थियो ।
शुक्रबार परेको हिमपातको असरले अभिभावक विद्यालय सम्म आउन मुश्किल परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीले जानकारी दिए । जोमसोम आसपासका अभिभावक विद्यालयमा उपस्थित भएपनि ठिनी ,स्याङ,मार्फा ,छैरो र चिमाङ लगायतका गाउबाट उपस्थित हुन नसकेको अध्यक्ष थकालीले उल्लेख गरे । उनले मौसमका कारण समिति पूर्न गठन गर्ने कार्यक्रम स्थगित भएकोप्रति क्षमा याचना समेत प्रकट गरे ।
फोटो क्याप्सन ः हिमपात संगै विद्यालयमा अभिभावकको न्युन उपस्थिती । एसके थकाली





