गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद विकासमा पनि प्रदेश सरकार पहिलो नै हुने बताएका छन् ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) पोखरामा सम्पन्न भएको अवसरमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा मुख्यमन्त्री गुरुङले भने, ‘जसरी विकासका लागि गण्डकी प्रदेश सरकार पहिलो भएको छ । त्यसरि नै १३ औं सागमा प्रदेशकातर्फबाट पदक जित्ने खेलाडीलाई सम्मान गर्ने कुरामा मात्रै नभई खेलकुद विकासमा पहिलो नै हुनेछ ।’
सबै पदक विजेता खेलाडीलाई प्रदेश सरकारको तर्फबाट बधाई दिंदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले भब्य कार्यक्रमका बीच सबै खेलाडीलाई नगदसहित सम्मान गर्ने उद्घोष गरे ।
उनले निकै चुनौती र अवसरका विच सम्पन्न भएको १३ औं साग सम्पन्न गर्न सबैले खेलेको भूमिकाका लागि आभार समेत व्यक्त गरे ।
साग खेल नेपालमा आयोजना हुने भनिएपछि तयारीमा निकै ढिलाई र तालमेलको अभाव रहेको उनले बताए । मुख्यमन्त्री गुरुङले भने, ‘घरमा आगो लागेपछि इनार खने’ जस्तै गरि सागको तयारी शुरु गरिएकोप्रति कटाक्ष गरे ।
उनले निकै आनाकानीका विच भब्य रुपमा सम्पन्न भएकोमा प्रदेश सरकार खुशी रहेको बताउँदै अब पोखरामा हुने नवांै राष्ट्रिय खेलकुदमा जुट्न सबैलाई आग्रह गरे ।
पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न प्रदेश सरकारले तयारी थाल्ने बताउँदै मुख्यमन्त्री गुरुङले भने, ‘के कस्तो पूर्वाधारहरू तयार गर्नुपर्ने र कति खर्च गर्नुपर्ने हो ? संघिय सरकारले त्यस्को जानकारी समयमा दिओस, प्रदेश सरकार र पोखरा महानगर त्यसका लागि तयार छ ।’
उनले सबै कुरा योजनावद्ध रुपमा अघि बढेमा प्रदेश सरकारको प्रतिष्ठा समेत माथी उठने बताए ।मुख्यमन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुदमा गण्डकीलाई पहिलो स्थान बनाउन सबै खेलाडी र प्रशिक्षकहरूलाई तयारी थाल्न आग्रह समेत गरे ।
सो अवसरमा मुख्यमन्त्रि गुरुङले सागलाई भब्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने विभिन्न खेलकुदका संस्थाहरूलाई सम्मान पत्र प्रदान गरे ।
उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले कठिन परिस्थितिमा साग सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
उनले पोखरेली खेलप्रमीहरूको सहयोग र सञ्चारमाध्यमले खेलेको भूमिकाका लागि धन्यवाद दिंदै अव नवौं राष्ट्रिय खेलकुदमा जुटन र सफल बनाउन आग्रह गरे ।




