छोरेपाटन स्कुलमा १२ कोठे नयाँ भवन

पोखरा १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयमा १२ कोठे नयाँ भवन बन्ने भएको छ । भवन बिहीबार पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले शिलान्यास गरे ।

वडाध्यक्ष अधिकारीले समय अनुसार आधुनिक सुविधा सम्पन्न भवन वनाउनुपर्ने बताए । सो स्कुल विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका अधिकारीले गुणस्तरीय शिक्षाबाटै समृद्ध समाज र देश निर्माण गर्न सार्थक पहल हुने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मीले ४ तलाको १२ कोठाको १२ हजार स्क्वायर फिटको भवन बन्ने जानकारी दिए । करिब ४ करोडमा बन्ने भवन १५ महिनामा निर्माण हुने उनले जानकारी दिए ।

प्रधानाध्यापक लक्ष्मण थापाले २०४६ सालमा बनाइएका पूर्वाधार पुराना भैसकेको र भूकम्पीय जोखिममा रहेकाले अत्याधुनिक भूकम्प प्रतिरोधी भवन निर्माण गर्नु परेको बताए ।

नर्सरीदेखि १२ सम्म अध्ययन हुने यो विद्यालयमा २ हजार ३ सय विद्यार्थी छन् । विद्यालयमा हाल प्लस २ भवनमा १८ कोठा, ९ र १० भवनमा १२ कोठा, शिशुदेखि आधारभूत तहको भवनमा २५ कोठा छन् ।