सागपछि शनिबार फेरि पोखरा रंगशालामा क्रिकेटप्रेमीको भीड लाग्दै छ । पोखरा प्रिमियर लिग टि २० क्रिकेटको उद्घाटन खेल यहाँ हुँदै छ । साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्स शनिबार भिड्दै छन् ।
क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका विजेतालाई २७ लाख र उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ । बिहीबार विज्ञप्तिमार्फत् प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रतियोगिताको तयारी सकिएको जनाएका हुन् ।
पुस १२ गतेसम्म हुने प्रतियोगिताको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेन्चाइज टिम सहभागी हुने छन् । विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज प्रतियोगितामा सहभागी हुँदै छन् ।
सबै टिमले ड्राफ्टमार्फत खेलाडी आबद्ध गरिसकेको र खेलाडी पोखरा आउने क्रम सुरु भएको प्रबन्ध निर्देशक लामाले जानकारी दिए । गत वर्ष प्रत्येक टिममा २ विदेशी खेलाडी रहेकोमा यसपालि ३ जना रहने छन् ।
प्रतियोगिताका उत्कृष्ट ३ खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको ईमर्जिङ खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई नेपाल टेलिकमले १० हजार दिनेछ ।
प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु किलियर टिभी किलियर र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टी प्रदान गरिनेछ । लिगको ट्रफी शुक्रबार सार्वजनिक गरिनेछ ।
आयोजकले बुधबार पिपिएलको खेल तालिका बुधबार सार्वजनिक गरिसकेको छ ।




