उच्च हिमाली क्षेत्र हुम्लामा हिमपात हुँदा त्यहाँको जनजीवन प्रभावित भएको छ ।
पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको हो ।
नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।
हिमपातका कारण चिसो अत्यधिक बढेको हुदा त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।
दोस्रो पटकको हिमापातले बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाउनेका साथै एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । सदरमुकामा चहलपहल पनि न्यून रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।






