ताजा समाचार

मंसिर २५ गते २०७६

युआरएल अध्यक्षमा शुशील, ठाकुर प्रबन्ध निर्देशक

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याब (युआरएल)को दोस्रो अधिवेशन तथा छैटौ साधारणसभाले शुशील थापालाई अध्यक्ष निर्वाचित गरेको छ । यसअघि पनि अध्यक्ष रहेका थापा हेल्थ केयरको क्वालिटी कन्सल्टेन्समा सिक्स डिग्मा ब्लाकबेल्ट हुन् ।

अधिवेशनले युआरएको प्रबन्ध निर्देशक र निर्देशकमा क्रमश ठाकुरप्रसाद पन्त र दिनेशबाबु खड्कालाई निरन्तरता दिएको छ । ६ वर्षको अवधिमा युआरएलले तनहुँका दुलेगौडा र दमौलीमा शाखा विस्तार गरिसकेको छ ।

अध्यक्ष थापाले नाफाभन्दा बढी सेवामा केन्द्रीत भई सर्वसाधारणमा चेतना बढाउन र शिविरमार्फत् सुलभ तवरले सेवा दिन संस्था सफल भएको बताए । उनले गण्डकी प्रदेशका अन्य जिल्लामा पनि सेवा विस्तार गर्दै प्रदेशलाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउन लाग्ने प्रण गरे

युआरएलले ३ सय ६६ संघ, संस्थासँग सहकार्य गरी ७८ वटा शिविर गरिसकेको छ । हालसम्म अढाइ लाखलाई सेवा दिएको युआरएलले ५८ हजारलाई सित्तैमा सेवा दिएको छ । ४४ संस्थाले युआरएलसँग सम्झौता गरी सेवामा सहुलियत पाइरहेको प्रबन्ध निर्देशक पन्तले बताए । उनले भने, ‘चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी, स्वास्थ्य संस्था, प्रयोगशालाहरु सबैको विश्वास जितेका छौं । गुणस्तर र सेवा बढाउँदै विश्वास अटुट राख्ने प्रण गर्दछौं ।’