अधुरो पोखरा रंगशालाको पुर्वाधारमै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल पोखरामा सम्पन्न गरियो । फुटबल मैदान निर्माण कम्पनीले पोखरामा साग सकिएको दोस्रो दिनदेखि नै निर्माण कार्यलाई शुरु गरिसकेको छ । झण्डै दुई साता पूर्णरुपमा रोकिएको कामलाई कम्पनीले बुधबारदेखि फेरी पुरानै रफ्तारमा शुरु गरेको छ ।
कम्पनीले बढीमा अबको पाँच महिनाभित्रमा फुटबल मैदानसहितको अन्य भौतिक पुर्वाधार राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरिसक्ने प्रतिबद्धतासमेत जनाएको छ । ‘ढिलोमा पाँच महिनामा हामी सबै काम कम्प्लिट गरेर हस्तान्तरण गर्छौ ।’ भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का स्थानीय प्रोजेक्ट मेनेजर दिपक बरालले भने–‘आउनुपर्ने सामान केही आईसकेको छ । केही आईपुग्छ ।’
भिआईपीको फलामे कन्ट्रक्सनयुक्त कामको लागि आवश्यक सामान आईरहेको छ । त्यसको जडान गर्न जनवरीको दोस्रो साता अर्थात पुसको अन्तिम साता प्राविधिकहरु पोखरा आईपुग्ने उनले सुनाए । ‘सामान जडान गर्ने प्राविधिक आईपुगेपछि चेन्जिङ रुमयुक्त पुर्वाधारलाई पुरा गर्ने छौं ।’ उनका अनुसार अब प्यारापिटका सामानसमेत जडान गरिनेछ ।
कम्पनीले सागकै लागि पूर्व र पश्चिममा प्यारापिट निर्माण गरी सिट जडान गरेको थियो । अब उत्तर र दक्षिण तर्फ प्यारापिट राख्न फाउण्डेशनको काम गर्नुपर्ने उल्लेख गरे । ‘आईसकेको प्यारापिटको समान फाउण्डेशन तयार गरिएको ठाउँमा हाल्दै जान्छौै ।’ उनले भने–‘उत्तर र दक्षिणतर्फ फाउण्डेशनको काम गरिनेछ ।’
महिला फुटबलकै कारण झण्डै दुईसाता पूर्ण रुपमा ठप्प हुदाँ काममा ढिलाई भएको कम्पनीको दावी छ । कम्पनीले पूर्व तर्फ दुई तले भवन निर्माण गर्न केही समय लाग्ने जनाएको छ । ‘हामीलाई दुईतले भवन निर्माण गर्न केही समय लाग्ने छ । त्यसैले पाँच महिनामा सबै काम टुग्याउने योजनासहित काम गरेका छौै ।’ उनको भनाई थियो ।
पोखराको प्रतिष्ठित गोल्ड कप आहा रारासमेत आयोजना गर्ने हुदाँ त्यसको लागि पनि केही समय रोकिनेछ ।
फुटबल मैदान अझै व्यवस्थित भईसकेको छैन् । मैदान व्यवस्थित नभएपछि राष्ट्रिय प्रतिष्ठासँग जोडिएको भन्दै महिला फुटबल आयोजना गरेर टुग्याईयो । मैदान, ट्रयाक एण्ड फिल्डसहित फिल्ड बाहिर नालीको काम समेत गर्नुपर्ने छ । प्रोजेक्ट मेनेजर बरालका अनुसार पोखराको प्रतिष्ठित गोल्ड कप आहा रारासमेत आयोजना गर्ने हुदाँ त्यसको लागि पनि केही समय रोकिनेछ । ‘फुटबल रोक्नुपर्छ भन्ने पक्षमा छैनौ । फुटबल आयोजना गर्न कुनै समस्या नहुने गरी बाँकी काम गर्छौ ।’ उनको भनाई थियो ।
प्यारापिटमा अहिले झण्डै ६ हजार ५ सय सिट राखिएको छ । २० हजार क्षमताको प्यारापिट निर्माण गर्ने सम्झौता छ । १६ हजार ५ सय निर्माण गर्ने भए पनि कम्पनीले ३ हजार ५ सय सिट थप गरेर २० हजार पुर्याउनेछ । कम्पनीले १७ वटामध्ये अहिले १२ वटा शौचालय तयार गरेको छ । बाँकी ५ वटा शौचालय दक्षिणतर्फ बनाउने छ ।
मैदानसम्म पुग्ने पक्की सडकसमेत निर्माण गरिरहेको छ । क्रिकेट र र्आचरी मैदानको बीचबाट खनिएको बाटोलाई कालोपत्रे गरिदैं रंगशालाका सबै खेलस्थलसम्म पुग्ने बाटोसमेत कम्पनीले कालोपत्रे गर्ने अभियान शुरु गरिएको कम्पनीका प्रोजेक्ट मेनेजर बरालले बताए । एक अर्ब २८ करोडको लागतमा गएको फागुन अन्तिम साता मैदानसहितको पुर्वाधार निर्माणको शिलान्यास गरिएको थियो ।
kheladinews.com




