अधिकारकर्मी बिनाकुमारी सिलवालले राष्ट्रिय सम्पदा मानवअधिकार सम्मान पाएकी छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीश विनोदमोहन आचार्य, राष्ट्रिय सम्पदाका अध्यक्ष विष्णुहरि अधिकारी, पुरस्कारका संस्थापक रामबहादुर पौडेल लगायतले उनलाई सम्मान गरे ।
सिलवाललाई नगद १० हजार र ताम्रपत्रसहित सम्मान गरिएको हो । कोपिला नेपालीकी कार्यकारी निर्देशक सिलवालले यसअघि सिडब्लुएसएन, सेभ द चिल्ड्रेन नर्बे, युके लगायतका संस्थामा काम गरेकी थिइन् ।
कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीश विनोदमोहन आचार्यले राज्य र नागरिकलाई कानुनबाहिर जान नदिन र मानिसका अधिकारको रक्षा गर्न मानवअधिकारको अवधारणा आएको बताए । उनले दोस्रो विश्वयुद्धपछि सुरु भएको मानवअधिकारको बहस र संस्थागत प्रयास अझै जरुरी रहेको उनले बताए ।
कुनै स्वदेशी, विदेशी दातृ संस्था, सरकारबाट सहयोग नलिई स्वयंसेवी तवरले राष्ट्रिय सम्पदा सञ्चालन भइरहेको पूर्व अध्यक्ष रामबहादुर पौडेलले बताए । उनले राज्यका सबै निकायलाई जिम्मेवार बनाएर नागरिकको मानवअधिकारको पक्षमा स्थापनादेखि नै वकालत गरिरहेको बताए ।
राष्ट्रिय मानवअधिकारका आयोग पोखराका निर्देशक दीपकजंगध्वज कार्कीले मानवअधिकारकर्मी सबै हुनसक्ने बताए । उनले सबै मानिसले अरुको मानवअधिकारको सम्मान र आफ्नो अधिकार रक्षाबारे संवेदनशील हुनुपर्ने उल्लेख गरे । पुरस्कृत व्यक्तित्व सिलवालले पुरस्कार आफूलाई मानवअधिकार र सामाजिक परिवर्तनको पक्षमा काम गर्न ऊर्जा थपेको बताइन् ।

संस्थाका पूर्व अध्यक्ष प्राडा भवानीप्रसाद पाण्डे र वरिष्ठ अधिवक्ता तीलक पराजुलीले अहिले देखिएको सीमा नक्सा विवाद चाडै समाधान गर्नुपर्नेमा जोड दिए । महाकाली बचाऊ अभियानबाट सुरु भएको सम्पदाले सीमाका समस्या र अवस्थाबारे नागरिकलाई सजग गराउन निरन्तर भूमिका खेल्नुपर्नेमा उनीहरुको जोड छ ।
राष्ट्रिय सम्पदाका महासचिव सुनिल पाण्डेले मानवअधिकारको अवस्था नाजुक हुँदा मानिसको भविष्य नै जोखिममा पर्ने बताए । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सदस्य विन्ध्येश्वरी बराल, नागरिक समाजका सहसंयोजक इन्द्रकमल मानन्धर लगायतले कार्यक्रममा बोलेका थिए ।
यसअघि यो सम्मान नवलपरासीको कैलाश ठाकुर र पोखराका खगराज आचार्यले पाइसकेका छन् ।






