नेपाल पत्रकार महासंघले कास्की शाखाका सदस्य राजेन्द्रप्रसाद अधिकारीलाई प्रहरीले यातना दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । न्युज २४ टिभीका पत्रकार अधिकारी प्रहरीको मानसिक यातनाले पोखराबाट विस्थापित भएका छन् ।
शनिबार महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा समाचार लेखेकै विषयमा यातना दिने कार्य संविधान विपरित हुने भएकाले पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षितरुपमा काम गर्ने वातावरण निमार्ण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
विज्ञप्तीमा भनिएको छ ‘समाचार लेखेको विषयमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले सादा पोशाकका प्रहरी खटाइ पत्रकार अधिकारीमाथि निगरानी गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण छ ।’
पोखराको विभिन्न ठाउँमा प्रहरीले चलाएर्को जुवा अप्रेसन’ का विषय न्यूज २४ टेलिभिजनमा समाचार प्रसारण गरेको भन्दै प्रहरी प्रमुख एसपी कार्कीले पत्रकार अधिकारीको घर तथा कार्यालयमा सादा पोशाकका प्रहरी खटाएर मानसिक तथा शारीरिक यातना दिनुका साथै पत्रकार अधिकारीलाई पोखराबाट विस्थापित हुन बाध्य बनाएको पत्रकार अधिकारीले जनाएका छन् ।
महासंघले समाचारप्रति गुनासो एवं चित्त नबुझे त्यसको कानुनी उपचार आग्रह गरेको छ ।






