पोखरामा सुनिए हिमाल, पहाड र तराइका मौलिक धुन

- युवाले चासो नलिए इतिहासमा पनि भेटिन्न : शेरचन

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले युवा पुस्तालाई पुराना बाजाका बारेमा चासो लिन आग्रह गरेका छन् । युवाले चासो नलिए मौलिक बाजा इतिहासमा समेत नभेटिने उनले चेतावनी दिए । पश्चिमी बाजाको प्रभावका कारण नेपाली मौलिक बाजाहरु हराउँदै गएकोमा उनले चिन्ता जनए ।

नेपाल संगीत नाट्य एकेडेमीको आयोजना तथा हिमाली सांस्कृतिक परिवारको सहकार्यमा शनिबार सकिएको ‘गण्डकीका धुनहरु’ कार्यक्रममा प्रदेश प्रमुख शेरचनले पछिल्लो समय पश्चिमी बाजाको प्रभावका कारण नेपालका मौलिक बाजा लोपोन्मुख भएको बताए । बाजाका बारेमा समयमानै चासो र चिन्तन नगरे नेपाली संस्कृति नजोगिने उनको भनाइ छ । बाजाहरुका बारेमा भएको सम्मेलनले सरोकारवालालाई घच्घच्याउने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरे ।

११ जिल्लाको प्रतिनिधित्व हुने गरी शुक्रबार र शनिवार भएको कार्यक्रममा ९५ लोपोन्मुख बाजा प्रदशनी र ३ वटा कार्यपत्र प्रस्तुति गरिएको थियो । कार्यक्रममा पञ्चेवाजाका बारेमा तुलसी प्रवास, हिमालमा प्रचलित बाजा टुंनाका बारेमा कर्मा फारम र नवलपुरको थारु बाजाका बारेमा पिताम्बर महतोले कार्यपत्र प्रस्तुत गरेका थिए ।

१२ वटा समूहले गण्डकी प्रदेशका हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी विभिन्न धुन सुनाए । कार्यक्रममा नेपाल संगीत नाट्य एकेडेमीका प्रमुख अशोक राई र हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले नेपाली मौलिक बाजा र तिनको संरक्षणको आवश्कताबारे बोलेका थिए ।