ह्यान्डबल फाइनलमा नेपाल–भारत आमनेसामने

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ह्यान्डबलमा नेपाली महिला टोली पहिलो पटक फाइनलमा पुगेको छ । शनिबार भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई २२–२१ गोल अन्तरले पराजित गरेको हो ।

यसअघि महिला ह्यान्डबलमा नेपाली टिमलले सहभागिता जनाए पनि कुनै पदक उचालेको थिएन् । उपाधिका लागि नेपाल आइतबार भारतसँग भिड्नेछ । खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् ।

शनिबार भएको महिला ह्यान्डबलको सेमिफाइनलमा भारतले बंगलादेशलाई ४१–१३ गोल अन्तरले हरायो । भारतका लागि गोल उमा र सोनिकाले समान ६ गोल गरे ।

महिलातर्फको खेलमा शनिबार भारतसँग पराजित बंगलादेश र नेपालसँग पराजित पाकिस्तान आइतबार कास्य पदकका लागि खेल्नेछन् । १२ औं संस्करणको महिला ह्यान्डबलमा भारत स्वर्ण पदक विजेता र बंगलादेश रजत पदक विजेता हुन् ।

पुरुषमा भारत र पाकिस्तान फाइनलमा
पुरुष ह्यान्डबलको फाइनलमा भारत र पाकिस्तान पुगेका छन् । भारतले श्रीलंकालाई र पाकिस्तानले बंगलादेशलाई हराएर फाइनल यात्रा तय गरेका हुन् । शनिबार भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३९–३२ गोलले पन्छायो ।भारतका लागि दीपक र नवीन सिंहलेसमान ७ गोल गरे ।

दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले बंगलादेशमाथि २७–१७ को जित दर्ज ग¥यो । पाकिस्तानका मोहम्मद उजिर आतिफले सर्वाधिक ७ गोल गरे ।

आइतबार भारत र पाकिस्तान स्वर्ण र रजत पदककालागि फाइनल खेल्नेछन् । कास्य पदकका लागि श्रीलंका र बंगलादेश भिड्ने छन् । सागको ११ औं संस्करणदेखि पुरुष ह्यान्डबल सुरु भएको हो । ११ औं संस्करणमा पाकिस्तान स्वर्ण विजेता र भारत रजत विजेता थिए । १२ औं संस्करणमा भारत स्वर्ण र पाकिस्तान रजतका हकदार बनेका थिए ।