पत्रकार गीतालाई किराँत सेवा समाजको सम्मान

किराँत सेवा समाज कास्कीले पत्रकार गीता रानामगरलाई सम्मान गरेको छ । एबिसी टेलिभिजन पोखरा ब्युरोमा कार्यरत पत्रकार रानामगरले आवाजविहीनको आवाजलाई मिडियामार्फत बुलन्द गरेकाले समाजले १९ औं वार्षिक साधारण सभामा उनलाई सम्मान गरेको हो ।

सभामा किराँत सेवा समाजका निवर्तमान अध्यक्ष गजेन्द्र लिम्बु र समाज भवन निर्माणमा सहयोग गर्ने गणेश लिम्बुलाई समेत सम्मान गरियो । तीनै जनालाई पोखरा १५ का अध्यक्ष प्रकाश पौडेल र किराँत सेवा समाज कास्की अध्यक्ष लोकेन्द्र चाम्लिङ राईले सम्मान गरेका हुन् ।

पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलले किराँत समुदायका मानिस पोखरामा रहेर आफ्नो मौलिक संस्कृति संरक्षण गरिरहेकोमा खुसी व्यक्त गरे । उनले किराँत लक्षित सीपमूलक र आयमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता गरे ।

गण्डकी प्रदेश संग्रहालय पोखरा प्रमुख करुणा राईले नेपालको पूर्वी भेगबाट विभिन्न कामको सिलसिलामा पोखरा आई बसोबास गरी कामसँगैे संस्कृति संरक्षणमा लागेकोमा किराँत सेवा समाज कास्कीप्रति खुसी व्यक्त गरिन् ।

किराँत सेवा समाज कास्कीका संस्थापक सचिव मनोजकुमार राईले किराँत सेवा समाज २० औं वर्षसम्म आइपुग्दा विभिन्न बाधा व्यवधान हाटाउँदै अघि बढेकाले सबैलाई आवद्ध हुन आग्रह गरे ।

आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्थाले किराँत सेवा समाजले २० औं वर्ष आरम्भ गरिरहँदा किरांँतलाई मात्र नभई दायरा फराकिलो बनाएर अगाडि बढ्न आग्रह गरे ।

किराँत सेवा समाज कास्की अध्यक्ष लोकेन्द्र चाम्लिङ राईको अध्यक्षतामा भएको कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष गजेन्द्र सुब्बा, पूर्वाञ्चल सेवा समाजका वरिष्ठ उपाध्यक्ष बालकुमार लुइँटेल लगायतले बोलेका थिए ।