‘पोखरेली व्यवहार र व्यवस्थापन यादगार बनाउँछौं’

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत विभिन्न प्रतिस्पर्धा भईरहेका छन् । सरुवाती २ दिनमा पदक तालिकाको एक नम्बरमा रहेको नेपाललाई भारतले पछाडी पारिसकेको छ ।

आफ्नै भूमिमा भईरहेको खेलकुदको यो माहौलमा सबै नेपाली तथा संबन्धित देशका खेलाडीहरुको चासो पदक विजेता र नया नया कीर्तिमानमा नै रहेको पाईन्छ । काठमाडौसगै अन्य प्रदेशहरुमा समेत प्रतियोगिता आयोजना गर्दा ती स्थानमा पूर्वाधारको विकास पनि हुने र व्यवस्थापन पनि सहज हुने विश्वास सरकारले लिएको देखिन्छ ।

सागमा हुने विभिन्न प्रतिस्पर्धामध्ये पोखरामा ८ वटा खेल भएका छन् । ती खेलमा भाग लिन आउने विभिन्न देशका खेलाडी, तिनका प्रशिक्षक एवं अन्य सहभागीहरुको बसाई तथा प्रतियोगिता स्थलसम्मको सवारी व्यवस्थापन महत्वपूर्ण पाटो छ । आनन्दको बसोबास र समयमै अभ्यास स्थल एंव प्रतियोगिता उपस्थितिले खेलाडीको मनोबलमा सकारात्मक उर्जा भरिन्छ । बुधबार साँझ पोखरा रंगशाला पुग्दा यातायात व्यवस्थापन समितिका संयोजक एव अन्य सदस्यको व्यवस्ता निकै देखिन्थ्यो ।

पोखरामा सञ्चालन हुने प्रतियोगिताको यातायात व्यवस्थापन समितिका संयोजक एव जिल्ला समन्वय समिति कास्कीका सदस्य तोरण बानियाका अनुसार विभिन्न देशका सहभागी खेलाडी, अफिसियल तथा अन्य आमन्त्रित पाहुनालाई पोखराका २५ वटा होटलमा बसोबासको व्यवस्था गरिएको छ ।

पोखरा रंगशाला, माटेपानी तथा लेकसाईड गरी ३ स्थलमा प्रतियोगिता आयोजना गरिएको छ । पूर्वाअभ्यासका लागि पनि खेलाडी र प्रशिक्षकलाई प्रतियोगिता स्थलसम्म लैजाने र बासस्थानमा फर्काउने कार्य पनि यही समितिले व्यवस्थापन गरिरहेको छ । २ जना जनप्रतिनिधि, ९ जना विभिन्न क्षेत्रका सदस्य तथा एक जना कर्मचारी सदस्य सचिवसहित १२ जनाको समितिले चुस्त तवरले काम गरिरहेको छ ।

बिहान ६ बजेदेखि राती अबेरसम्म सबै सदस्य काममा जुटिरहेका छन । यो प्रतियोगिता नेपालको छवि अरु देशमा उज्यालो बनाउने अवसर पनि भएकाले यातायात व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने समिति संयोजक बानिया बताउँछन् । सबै खेलाडी तथा अफिसियललाई प्रतियोगिता स्थलसम्म ल्याउने र लैजाने कार्यको लागि सुविधा सम्पन्न मिनिबस, माईक्रो बस तथा कार जीपसहित ६३ वटा सवारी साधन प्रयोग गरिएको छ ।

प्रतियोगिता सञ्चालनका दौरान पोखरेलीका क्रियाकलाप र व्यवस्थापनले पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने भएकाले आफुहरुले अधिकतम मेहनत गरी व्यवस्थापन गरिरहेको समिति सदस्य अञ्जु केसीले बताइन् ।