ताजा समाचार

मंसिर १९ गते २०७६

बंगलादेश महिला क्रिकेट फाइनलमा

- फाइनल पुग्न नेपालले जित्नैपर्ने

तेह्रौं दक्षिण एशियाली खेकलुद प्रतियोगिता अन्तर्गत बंगलादेश महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बंगलादेश मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको बंगलादेशले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो । बंगलादेशका २ खेलाडीले शतक प्रहार गरे । प्लेयर अफ द म्याच निगार सुल्तानले अविजित १ सय १३ तथा फरगंगा हकले अविजित १ सय १० रनको महत्वपूर्ण योगदान दिए । ६५ बलको सामना गरेकि सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन् । विस्फोटक व्याटिङ्ग गरेकी फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकी थिइन् । मालदिभ्सको बलिङ्गमा समा अलीले १ विकेट लिइन् ।

जितका लागि २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको मालदिभ्स ६ रनमै अलआउट भयो । बलियो बंगलादेशबिरुद्ध ब्याटिङमा उत्रिएका मालदिभ्सका खेलाडी एकपछि अर्को गर्दै खातै नखोली पेभेलियन फर्किए । मालदिभ्सका समा अलीले २ तथा इस्माइस र अतिमाथले १–१ रनमात्रै बनाए । अन्य खेलाडीले खातासमेत खोल्न सकेनन् । मालदिभ्सले २ रन भने अतिरिक्त रनका रुपमा पाएका थिए । बंगलादेशको बलिङ्गमा रितु मोनी र सलमान खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पुजा चक्रावर्तीले पनि एक एक विकेट लिए ।

अब नेपालले सेमीफाइनल पुग्न जित्नैपर्ने दवाब परेको छ । नेपालले शुक्रबार श्रीलंकासँग खेल्नेछ ।