अंग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्ने यसपालिको पोखरा सडक महोत्सव पुस १२ देखि १६ गते हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा हुँदै आएको महोत्सवको यो २१ औं संस्करण हो ।

यसपालि महोत्सवलाई अझ विशेष बनाउन रेबान जुटेको कार्यक्रम संयोजकसमेत रहेका संस्थाका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए । भिजिट वर्ष २०२० लक्ष्य गरी महोत्सवलाई अझ विशेष बनाउन र स्वदेशी र विदेशी पर्यटकलाई थप मनोरञ्जन दिलाउनेबारे छलफल भइरहेको उनले बताए ।

रेबानका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले विगतका गल्ती, कमजोरी सुधार गर्दै कार्यक्रमलाई व्यवस्थित बनाइने प्रतिबद्धता जनाए । यो वर्ष आतिसबाजी गरी नयाँ वर्षलाई स्वागत गरिने र यसबारे प्रशासनसँग सल्लाह भइसकेको उनको दाबी छ ।

महोत्सवभर पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने र उनीहरुलाई गुणस्तरीय खानासँगै सोही अनुसारको सेवा प्रदान गरिने प्रतिबद्धता रेबान अध्यक्ष भीमसेन भुजेलले जनाए । ‘महोत्सव अवधिभर पोखराका सम्पूर्ण होटल भरिभराउ हुनेछन्,’ उनले भने । महोत्सवमा कास्की तथा आसपासका जिल्लामा उत्पादित वस्तुको प्रदर्शनी गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, हस्तकला प्रदर्शनी, बाल उद्यान, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट पनि महोत्सवका आकर्षण रहेको सचिव विकास भट्टराईले जानकारी दिए । महोत्सवमा विभिन्न देशका सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुने छन् ।

‘सडकमै खाऔं, सडक रमाऔं’ भन्ने नाराका साथ हुँदै आएको महोत्सव नेपालकै पर्यटन प्रवद्र्धनको ब्रान्ड बनिसकेको पर्यटन परिषद पोखराका अध्यक्ष चिरञ्जीवी पोखरेलको भनाइ छ । महोत्सवमा पर्यटक नठगिऊ्न भनी निरन्तर अनुगमनको व्यवस्था गरिएको उनले जानकारी दिए ।

पोखराका पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महोत्सव प्रभावकारी पनि सरकारी तबरबाट यसलाई प्राथमिकतामा नपारिएको महोत्सवका परिकल्पनाकार गणेशबहादुर भट्टराईले गुनासो गरे । भारतको गोवाको सिकाइबाट पर्यटन व्यवसायी भट्टराईले यो महोत्सव सुरु गरेका हुन् ।