नेपालमा लगानी गर्न तिब्बत सरकारलाई आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा लगानीको लागि तिब्बतका रिपब्लिक चेयरमेन क्विजहारालाई आग्रह गरेका छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई साकार पार्न चीन सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

उनले नेपाल १ चीन नीतिप्रति प्रतिवद्ध रहेको जनाए । चीनका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन दृढ संकल्पित रहेको उनले प्रष्ट्याए । गण्डकी प्रदेशको आमन्त्रणमा २ दिनको पोखरा भ्रमणमा आएका चीनको स्वायत्त प्रान्त तिब्बतका रिपब्लिक चेयरमेन क्विजहाराको सम्मानमा बुधबार पोखरामा आयोजित कार्यक्रममा उनले नेपाल र चीन सरकारका साथै २ देशका जनता बीचको सम्बन्ध सुमधुर रहेको बताए । मुख्यमन्त्रीले गण्डकी प्रदेश र तिब्बतको भौगोलिक सिमानामा गण्डकी प्रदेशका मुस्ताङ, मनाङ र गोर्खाको सिमाना जोडिनुका साथै संस्कृति पनि समान रहेको उल्लेख गरे ।

दुवै देश शान्तिका साथै समानता र आपसी सम्बन्धमा विश्वास गर्ने गरेको उल्लेख गर्दै उनले यो भ्रमणबाट सम्बन्ध थप उचाईमा पुगेको विश्वास व्यक्त गरे । चीनका राष्ट्रिपति सिजिङ पिङको ऐतिहासिक नेपाल भ्रमणको प्रसंग उल्लेख गर्दै उनले दुवै मुलुक एकापसमा साझेदारीमार्पmत विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास प्रकट गरे ।

चीनको सहयोगमा पोखरामा निर्माण भईरहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्ररुपमा भइरहेको जानकारी गराउँदै मुख्यमन्त्री गुरुङले नेपालको सडक विस्तार, विमानस्थल, जलविद्युत परियोजना लगायतका योजनामा सहयोग जारी रहने अपेक्षा गरे ।

तिव्वतका चेयरमेन क्विजहाराले नेपालको आर्थिक र सामाजिक विकासमा चीन सरकारको सहयोग रहिरहने प्रतिवद्धता जनाए । उनले जलविद्युत, सडक लगायत विभिन्न योजनाका साथै निर्माण भई रहेको योजनामा पनि सहयोगको लागि चीन सरकार प्रतिवद्ध रहेको जानकारी जनाए ।

उनले तिब्बत र नेपालको पहाडी क्षत्रमा समानता, संस्कृति र रीतिरिवाज एकनासको रहेको सुनाए । गण्डकी प्रदेशमा चीनको लगानीका लागि वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन तिब्बतले पनि अहम भूमिका खेल्ने विश्वास दिलाए ।

२ दिने पोखरा भ्रमणमा आएको यो टोली ७ सदस्यीय छ ।