महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको गाडी दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने १६ घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साह रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
अठार दर्शनार्थी बोकेर बुधबार बिहान करिब ४ बजेतिर बारामा गढीमाईको दर्शन गरी फर्कंदै गरेको ना २ च ८८५५ नम्बरको पिकअप गढन्ता चोकमा अनियन्त्रित भई सडकभन्दा तल झरी दुर्घटनाग्रस्त भएको हो ।
गम्भीर घाइतेमध्ये धनुषाधाम निवासी २७ वर्षीया कविताकुमारी महतोसहित चार जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ भने अन्य १२ जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।






