मंसिर १७ गते २०७६

ताजा समाचार

मंसिर १७ गते २०७६

पोखरामा प्रमोदलाई सम्मान



प्रमोद खरेल अहिलेका चर्चित गायक हुन् । उनी कुनै समय विश्वविद्यालयमा विज्ञान विषय अध्यापन गर्थे । विज्ञानका यी प्राध्यापकको स्वरले धेरैलाई लठ्याएको छ ।

सानैबाट संगीतमा रुचि रहेका खरेललाई चिनाउने गीत पनि पोखरासँगै सम्बन्धित थियो । मबिना कसै कसैलाई मुस्किल छ पोखरामा बाट उनी सर्वाधिक लोकप्रिय बने । त्यसपछि उनलाई पछाडि फर्कनुपरेको छैन । एक जमानाका यी प्राध्यापकलाई पुस ११ गते पोखराको एक स्कुलले सम्मान गर्दै छ ।

पोखरा १४ चाउथेमा रहेको पोखरा पब्लिक स्कुलले रजत जयन्तीमा उनलाई सम्मान गर्न लागेको हो । स्कुलले मंसिर १८ देखि पुस ११ गतेसम्म विविध कार्यक्रम गरी रजत जयन्ती मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीले जानकारी दिए ।

रजत जयन्तीको अवसरमा मंसिर १८ गते मादी गाउँपालिका११ भगवती बरालडाँडामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, शोभा आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण र विद्यालयलाई २५ हजार सहयोग हस्तान्तरण गरिनेछ । मंसिर १९ गते शिशुवाको सहेलापाखाको वृद्ध तथा बाल आश्रममा खाद्य, लत्ता कपडा लगायतका सामग्री वितरण, २१ गते विद्यालय प्रांगणमा स्वास्थ्य शिविर, २७ गते शैक्षिक प्रदर्शनी, २९ गते अन्तर विद्यालय चित्र तथा निबन्ध लेखन प्रतियोगिता हुनेछन् ।

पुस १ गते पुरस्कार वितरण गरिनेछ । पुस ११ गते रजत जयन्तीको विशेष कार्यक्रममा सम्मान, सांस्कृतिक कार्यक्रमका साथमा अभिभावक दिवस मनाइने केसीले जानकारी दिए । उक्त दिन विद्यालयले रजत जयन्तीका अवसरमा प्रकाशन गर्न लागेको स्मारिका पनि विमोचन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तप्रसाद पराजुलीले जानकारी दिए ।

विद्यालय स्थापना हुँदा २५ विद्यार्थी रहेकोमा अहिले १ हजार १ सय २५ विद्यार्थी छन् । २०७१ सालको एसएलसी परीक्षामा कास्की जिल्ला प्रथम, २०७२ को एसइइमा कास्की जिल्ला प्रथम र नेपालमा दोस्रो हुँदै हरेक एसइई परीक्षामा उत्कृष्टसहित शतप्रतिशत नतिजा ल्याउन सफल भएको केसीले बताए । २०५१ सालमा पोखराको चिप्लेढुंगामा स्थापना भएको विद्यालय २०६६ सालदेखि पोखराको चाउथेमा रहेको सुविधा सम्पन्न आफ्नै भवनमा सञ्चालन हुँदै आएको छ ।

‘विद्यार्थीलाई सामाजिक कार्यमा सहभागी गराउन विद्यालयमा विद्यार्थी कल्याणकारी समिति गठन गरिएको छ,’ केसीले भने, ‘कक्षा ६ देखि १२ सम्मका प्रत्येक विद्यार्थीले महिनामा ५ रुपैयाँ कल्याणकारी समितिमा जम्मा गर्छन् र कोषमा जति रुपैंयाँ जम्मा हुन्छ, त्यत्ति नै रकम विद्यालयले थपेर सामाजिक कार्य र ज्येष्ठ नागरिक, गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई सहयोग गर्दै आएका छौं ।’ पत्रकार सम्मेलनमा शिक्षक अनुराग अधिकारीले पनि बोलेका थिए ।