अमरको स्मृतिमा बन्यो प्रतीक्षालय

स्वर्गीय अमरबहादुर खड्काको स्मृतिमा पोखरा ५ को सिद्धार्थ राजमार्गको ज्योतिमार्गमा उनका परिवारजनले प्रतीक्षालय निर्माण गरेका छन् । अमरकी श्रीमती खड्कदेवी र छोराहरु सुवेदार शालीग्राम, शिव र गणेशले १ लाख ८० हजार लागतमा प्रतीक्षालय निर्माण गरेका हुन् ।

शुक्रबार पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले प्रतीक्षालय उद्घाटन गरे । उनले सामाजिक काम र योगदानले नै मानिसको जीवनलाई सार्थक बनाउने बताए । उनले ९३ वर्षीय खड्कदेवीलाई सम्मानसमेत गरे ।

२०६३ मा निधन भएका अमरले भारतीय सेनाबाट निवृत्त भएपछि गाउँमा १० वर्ष स्वयंसेवी भएर शिक्षण र १३ वर्ष जेटिए बनी सेवा गरेका थिए । अमरको परिवारले यसअघि पोखरा ५ को मनकामना मन्दिर परिसरमा खानेपानी टंकी निर्माण गरिदिएको थियो ।