जिप दुर्घटनाहुँदा १ को मृत्यु, ४ घाइते

गुल्मीमा मंगलबार राति जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छन् ।

रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेको बुटिसगैरामा दुर्घटनामा भएको हो ।

दुर्घटनामा सत्यवती गाउँपालिका–३, सिङदीका ६८ वर्षीय ललितादेवी सिंजालीको मृत्यु भएको छ भने सत्यवती–३ का २२ वर्षीय राजन राहडी, २२ वर्षीय देवबहादुर बिक, ७ वर्षीय वीरेन्द्र सिंजाली र २३ वर्षीय अनिल बिक घाइते भएका छन् । घाइते चारै जनाको उद्धार गरेर पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले जिप र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताएका छन् ।