चोरी गरेर भाग्दाभाग्दै प्रहरीको फन्दामा

मोरङमा चोरी गरेर भाग्दै गर्दा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

स्थानीय राजकुमार बोहोराको घरमा कोही नभएको अवस्थामा ढोका फुटाएर चोरी गरी भाग्दै गर्दा बिहीबार साँझ सुन्दरहरैंचा नगरपालिका ९ बुधबारेबाट काठमाडौंका २६ वर्षीय आशिष मगर पक्राउ परेका हुन् ।

बोहोराको घरमा कोही पनि नभएको कुरा छिमेकीलाई थाहा थियो । शंकास्पद व्यक्ति घरबाट निस्किएर भाग्न थालेपछि स्थानीयले घेरा हाल्दै मगरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले जानकारी दिएका छन्।

मगरले चोरी गरेको एउटा ल्यापटप, पेन ड्राइभ, किराना सामानसहित नगद चार हजार पाँच सय रुपैयाँ प्रहरीले बरामद गरेको छ । पक्राउ परेका मगरविरुद्ध चोरी मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।