ताजा समाचार

मंसिर ४ गते २०७६

पोखरा रंगशालाको पुर्व र पश्चिम प्यारापिट जडान

पोखरा रंगशाला फुटबल मैदानको दायाँ वायाँ प्यारापिट जडान(ग्राण्डस्ट्याण्ड इन्स्टलेशन) शुरु गरिएको छ । आईतबार र सोमबार गरी १५ कन्टेनर सामान आईपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम शुरु भएको हो ।

पहिलो चरणमा फुटबल मैदानको पुर्व र पश्चिम तर्फ प्यारापिट जडान गरिने छ । मंसिर १५ गते पोखरा रंगशाला फुटबल मैदानमा १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत महिला फुटबल प्रतियोगिता हुदैं छ । त्यसको तयारी स्वरुप प्यारापिट जडान कार्य शुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।

फुटबल मैदान निर्माण कम्पनी भारतीय ग्रेड स्पोर्टस प्रालि तथा एम.ए कन्ट्रक्सन प्रालिको संयुक्तमा गएको फागुनदेखि फुटबल मैदान निर्माण कार्य शुरु गरिएको थियो । कम्पनीका प्रोजेक्ट म्यानेजरको रुपमा रहेको दिपक बरालका अनुसार एकसाताभित्रमा प्यारापिट जडान गरिने छ ।

उनले प्रतिबद्धता गरे अनुसार ८ हजार भन्दा बढी दर्शक क्षमताको प्यारापिट जडान गरिने छ । मैदानको दुबो समेत फेरिएको छ । मरेको दुबोको ठाँउमा नयाँ दुबो हालिसकिएको छ । मैदानको लागि प्राविधिकहरुले आवश्यकता अनुसार पानी, मलको प्रयोग गर्दै आएका छन् । फुटबल प्रतियोगिता शुरुहुन केही दिनमात्रै बाँकी रहदाँ काम भने रातदिन भईरहेको छ ।

kheladinews.com