बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन्।

बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ । पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन्।