ताजा समाचार

मंसिर २ गते २०७६

झाँक्रीको हत्या गरेको आरोपमा ५ जना पक्राउ

गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका झाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

भारतको विहार राज्यको मधुवनी जिल्ला निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान शव फेला परेको थियो ।

पक्रउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी फुलगेन साह, निजको भतिजो मिर्चैया नगरपालिका–४ निवासी जितेन साह, रामकुमार साह, धनुषाको कमलामाई नगरपालिका–६ निवासी अजय महतो र राजलाल महतोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

फुलगेन साह तथा झाँक्री यादवबीच केही रकम लेनदेन भएको र झाँक्रीले फुलगेनसँग लिएको रकम फिर्ता माग्दा उल्टै झाँक्री यादवले फुलगेनलाई ज्यान मार्ने धम्की दिएपछि योजनाबद्ध तरिकाले ती पाँचै जना मिलेर झाँक्रीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् ।

पक्राउ परेका पाँचैजना माथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।