ताजा समाचार

मंसिर १ गते २०७६

पर्सामा आगलागी,ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्कीदा पर्सामा ठूलो संख्यामा चौपायाको मृत्यु भएको छ । पटेर्वासुगौली गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन् ।

धुनियाको गोठमा भएको आगलागीमा परी बाख्राका पाठा १८, पाठी २६, बाख्रा ८ विदेशबाट ल्याएका उन्नत जातको बोका २ र ५० वटा परेवाको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।उनले आगलागीबाट धुनियाको गोठ र त्यसमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको बताएका छन् ।

शनिबार बिहान १ बजे गोठमा भएको आगलागीबाट रु १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान गरिएको छ । गोठमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र पोखरियाबाट गएको वारुणयन्त्रको मद्दतले नियन्त्रणमा लिइएको थियो ।