ताजा समाचार

मंसिर १ गते २०७६

विप्लव समूहका २ कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार बबई–५ ट्वाङखोलाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार ट्वाङखोलाबाट प्रदेश ३–०२००७प १२०४ नंको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा ३२ वर्षीय डाँगीलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ । साथै उनी चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

यस्तै दाङबाट विप्लव समूहका अर्का एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विप्लव समूहका सेक्सन अध्यक्ष शान्तिनगर गाउँपालिका–१ पटेरीखोला निवासी ३० वर्षीय प्रकाश बुढामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनलाई एक्लै हिँडिरहेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक शाहले बताए। उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर राखिएको छ ।