ताजा समाचार

कार्तिक २४ गते २०७६

हाइकुको ऐतिहासिक संग्रह सम्बन्ध सूत्र सार्वजनिक

जापानी भाषामा लोकप्रिय हाइकुको लोकप्रियता नेपालमा पनि बढ्दो छ । यसको दरिलो प्रमाण हो ः सम्बन्ध सूत्र संयुक्त हाइकु सञ्चयन ।

पूर्वाञ्चल हाइकु संघले देश, विदेशमा रहेका १ सय १६ जना नेपाली हाइजिनका हाइकु समेटेर कृति प्रकाशन गरेका हो । तीला लेकाली, इरान राई, हेमसागर पोखरेल, इन्द्रसुर बेल्टारे, विष्णु न्यौपाने, दीपक सुवेदी र विन्दु दाहाल मूकदर्शकले कृति सम्पादन गरेका छन् । कृतिको मूल्य १ सय ७१ छ ।

शनिबार मोरङको बेलबारीमा आयोजित विशेष समारोहमा बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी, हाइकु संघ नेपालका केन्द्रीय अध्यक्ष चेतनाथ धमला, संघका केन्द्रीय उपाध्यक्ष मिश्र वैजयन्ती, प्रदेश अध्यक्ष तीला लेकाली, अग्रज साहित्यकार पुण्यप्रसाद खरेल र साहित्यकार सुरेन्द्र महर्जनले कृति लोकार्पण गरे । मेयर सुवेदी साहित्यिक विकासका लागि नगरपालिका यथासक्य सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाए ।

कार्यक्रममा ह्दय लेकाली(भैरहवा), खगेन्द्र बस्याल (भैरहवा), माधव बिडारी(काठमाडौं), रामबाबु दाहाल (विराटनगर), रमेन्द्र कोइराला (सुनसरी) लगायत १५ जनाले हाइकुवाचन गरेका थिए । कार्यक्रममा सहभागी अतिथिलाई साहित्यिक पत्रिका निगुरो र बेलबारीबाट प्रकाशन भएका पुस्तकहरु मायाको चिनोका रुपमा प्रदान गरिएको थियो ।

कार्यक्रममा हाइकु संघ नेपालका केन्द्रीय अध्यक्ष धमला, संघका केन्द्रीय उपाध्यक्ष वैजयन्ती, अग्रज साहित्यकार पुण्यप्रसाद खरेल, साहित्यकार सुरेन्द्र महर्जन, संग्रहका सम्पादकको तर्फबाट इरान राई लगायतले बोलेका थिए ।

हाइकु संघका प्रदेश अध्यक्ष तीला लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य हरि कट्टेल र सञ्चालन उपाध्यक्ष हेमसागर पोखरेलले गरेका थिए ।

संग्रहमा हाइकुको इतिहासबारे दीपक सुवेदीको लेख र लेखमाथिको टिप्पणी धनकुटे कान्छाको टिप्पणी समावेश छ । नेपाली हाइकुको इतिहास लेखन, अनुसन्धान र हाइकुका प्रवृत्तिबारे बुझ्न चाहनेका लागि कृति उपयोगी रहेको संघका प्रदेश अध्यक्ष लेकालीले बताइन् ।