‘पोखरा १७ को ८० % मत विद्यालाई’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोखरा १७ को निर्वाचन परिचालन कमिटीले चुनावी तयारी थालेको छ । कमिटीले पोखरा १७ मा खस्ने मतमध्ये ८० प्रतिशत नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले पाउने दाबी गरेको छ । नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगानाले करिब साढे १० हजार मतदाता रहेको यो वडामा नेकपाले अभूतपूर्व उपस्थिति देखाउने जनाए ।

निर्वाचन परिचालन कमिटी पोखरा १७ को कार्यालय नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले उद्घाटन गरेका छन् । उनले कास्की २ मा नेकपाले सानदार विजय हासिल गर्ने बताए । नेकपाको बलियो क्षेत्र भए पनि चूपचाप नबस्ने उनले सजग गराए । ‘कहिलेकाँही नबगाउने खोलाले पनि बगाउन सक्छ, सजग, सचेत र पूर्ण परिचालित हुनुपर्छ ।’

नेपाली भूभाग भारतले आफ्नो नक्सामा राखेकोमा सच्याउन पहल हुनुपर्नेमा जोड दिँदै उनले भारतले गल्ती नसच्याए निर्वाचन अभियान नै राष्ट्र जोगाउने अभियान बन्ने उद्घोष गरे ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले १ हजार १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी रहेको वडामा सबै समितिका सदस्यलाई सक्रिय भएर निर्वाचनमा जुट्न आग्रह गरे । निर्वाचनमा नेता, कार्यकर्ताको भूमिका, सक्रियता र सहयोगको निर्वाचनपछि करिब १ हप्ता समय लिएर समीक्षा र मूल्यांकन गरिने उनको भनाइ छ ।

निर्वाचन परिचालन कमिटी पोखरा १७ ले विरौटाचोकमा कार्यालय स्थापना गरेको छ । कार्यक्रममा नेकपा पोखरा १७ सचिव ईश्वरी लम्सालले पनि बोलेका थिए ।