ताजा समाचार

कार्तिक २३ गते २०७६

स्वाभिमान सहकारीको साधारणसभा

स्वाभिमान सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार भएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सहकारीको विकासले आर्थिक समृद्धिमा टेवा पुगेको बताए । सहकारीले महानगरवासीको जीवनस्तर उकास्न सहयोग गरेको जनाए ।

पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले स्वाभिमान सहकारीले अन्य सहकारीभन्दा फरक पहिचान बनाएको उल्लेख गरे । उनले सहकारी सहकार्यकै अर्काे नाम भएकाले सहकार्य, समृद्धि र उन्नतिको सपना देख्न आग्रह गरे । क्षत्री महिला समाजका अध्यक्ष उर्मिला खड्का भण्डारीले समुदायबीच भाइचारा विकास गरी आर्थिक उन्नतिका लागि सहकारीको उल्लेख्य भूमिका रहेको उल्लेख गरिन् ।

संस्थाका अध्यक्ष लक्ष्मण कार्कीले सेयर सदस्यहरु एकताबद्ध भई कृषि र अन्य व्यवसायका लागि पहल गर्ने बताए । पत्रकार बिमला भण्डारीले स्वाभिमानमा महिलाको संख्या बढी भएका कारण पनि बचत गर्नुपर्छ भन्ने भाव महिलामा बढी भएको देखिएको जनाइन् ।

कार्यक्रममा असल निक्षेपकर्ताको रुपमा भेषकुमारी खत्री थापा, खमबहादुर केसी, असल कर्जाग्राही राजीव केसी र तुलजा कार्की र सेयर सदस्य सम्मानमा भगवती महतले पाए । सभामा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थी सागर केसी र निरज क्षेत्रीलाई सम्मान गरिएको छ ।

सभामा वार्षिक प्रतिवेदन अध्यक्ष लक्ष्मण कार्की, सचिवको प्रतिवेदन कृष्णबहादुर थापा, लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक वेदबहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमलबहादुर रेग्मीले प्रस्तुत गरे ।

कार्यक्रममा सेयर सदस्यको तर्फबाट इन्दिरा कार्की र राजेन्द्रबहादुर थापा, छिमेकी सहकारीको तर्फबाट शितला बचत तथा ऋण सहकारी अध्यक्ष सोभित कार्की, लेखा समिति सदस्य अर्चना बस्नेत लगायतले बोलेका थिए । यो सहकारीमा ८ सय ४३ सेयर सदस्य छन् ।