ताजा समाचार

कार्तिक २३ गते २०७६

पोखरा १७ मा कांग्रेसको चुनाव केन्द्रीत छलफल

नेपाली कांग्रेस वडा इकाई १७ ले शनिबार उपनिर्वाचन केन्द्रित छलफल गरेको छ । छलफलमा निर्वाचन सफल बनाउनका लागि नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले नेतृत्व सम्हालेका छन् । कार्यक्रमले घरदैलोका आगामी कार्यक्रमको तयसमेत गरेको छ ।

वडा सभापति देवराज आचार्यले निर्वाचन केन्द्रित रहेर वडा निकै चलायमान भएको बताए । उनले अग्रज नेता खेमराज पौडेलको उम्मेदवारीले वडाका बासिन्दा मतदान गर्न उत्साहित भएको बताए । नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा रहेका खेमराज पौडेलले यो निर्वाचनमा वडा नं १७ भूमिका महत्वपूर्ण हुने बताउँदै यस वर्ष नेपाली कांग्रेसलाई जिताउन वडाबासीलाई अनुरोध गरे ।

छलफलमा नेता पौडेलले आफूलाई माक्र्सवादी भन्नेहरुले दर्शनको सामान्य ज्ञान पनि नराखी युवाको परिभाषा दिएको प्रति आपत्ति जनाए । कांग्रेस १७ को छलफलमा युवालाई चेतनाको स्तरमा जोड्न आग्रह गर्दै उमेरसँग नजोडी विचारको हिसाबले हिँड्न अनुरोध गरे ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले उचित समयमा उचित उम्मेदवार मैदानमा भएका कारण कास्की क्षेत्र नं २ का नागरिक उत्साहित भएको बताए । निरन्तर राजनीतिमा लाग्ने पुस्तालाई सकारात्मक सन्देश प्रवाह भएको बताउँदै निर्वाचनसम्म वडामै बसेर आफ्नो कार्य गर्ने तालिका रहेको बताए ।

संविधानसभा सदस्य राजु थापाले यस क्षेत्रमा हुने निर्वाचनलाई स्याङ्जा जिल्लाले आफ्नै जिल्लामा भएको निर्वाचन सरह हेरेको बताउँदै वडा नं १७ मा अधिकांश स्याङ्जा जिल्लाबाट आएर बसोबास गर्नेको संख्या भएको कारणले निर्वाचन सफल बनाउन लागि पर्ने प्रतिबद्धता जाहेर गरे ।

स्याङ्जाका सभापति तुलसी रेग्मीले यो निर्वाचनले वर्तमान सरकारलाई खबरदारीको काम गर्ने भएका कारण नेपाली कांग्रेसले जित्न जरुरी रहेको बताए ।

कार्यक्रममा सञ्चारकर्मी बिमला भण्डारी, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य पुुण्डरीप्रसाद बराल, युवक लामिछाने, नम्रता बराल, क्षेत्रीय सदस्य माधव बराल इकाई उपसभापति दीपेन्द्र बराल, तरुण दलका पजन थकाली, विक्रम भण्डारी र वडा सचिव डिआर भट्टराई लगायतले बोलेका थिए ।