ताजा समाचार

कार्तिक २३ गते २०७६

औद्योगिक व्यापार मेला : तयारीका लागि २८ समिति, मूल संयोजकमा दिलसुन्दर

पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेलाका लागि तयारी शुरु गरेको छ । ‘लगानीको संवर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ संघले आगामी पुस १८ देखि २८ गतेसम्म मेला आयोजना गरेको छ ।

संघले मेला तयारीका लागि विभिन्न विभिन्न २८ वटा समिति गठन गरेको संघका महासचिव अर्जुन पोखरेलले नेपालदूतलाई जानकारी दिए ।

मेलाका लागि नेपाल उद्योग वाणिज्य महासंघ मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठलाई संयोजक चयन गरिएको छ ।

श्रेष्ठको संयोजककत्वमा ३ सय ५१ जना सदस्य राखेर मूल आयोजक समिति बनाइएको महासचिव पोखरेलले बताए । समितिको सह–संयोजकमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी रहेका छन् ।

यसैगरी संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा कार्यसम्पादन समिति समेत गठन गरिएको छ । कार्यसम्पादन समितिमा संघका पूर्वअध्यक्ष, सल्लाहका संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू रहेका छन् ।

यस्तै, संघले मेलाको अतिथि सत्कार व्यवस्थापनको जिम्मेवारी संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेलाई दिइएको छ ।

स्टल निर्माणका लागि वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, सुरक्षा व्यवस्थापनका लागि उपाध्यक्ष विन्दु कोइराला सुवेदी, प्रायोजक व्यवस्थापनका लागि उपाध्यक्ष पवनकुमार प्रजापति र प्रचार प्रसारमा महासचिव अर्जुन पोखरेललाई जिम्मेवारी दिइएको संघका अध्यक्ष अधिकारीले जानकारी दिए ।

यसैगरी मेलाको महत्वपूर्ण पाटो आर्थिक व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छेलाई दिइएको पोउवासंघले जनाएको छ ।

मेलामा आयोजना हुने प्रभातफेरी तथा आमा समूह व्यवस्थापनका लागि कोषाध्यक्ष चिनुकुमारी गुरुङ, हस्तकला व्यवस्थापनका लागि सदस्य कुमारी मुना बास्तोला, बाल उद्यानका लागि रुद्रप्रसाद लुइँटेल, मूलद्वार निर्माणका लागि केशवबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, सदस्य दिनेशचन्द्र बास्तोलालाई प्रकाशन, सोवित पौडेललाई सांस्कृतिक, बलराम आचार्यलाई टिकट, नगेन्द्रप्रसाद सुवेदीलाई रेष्टुरेण्ट–संघ/संस्था र ऋषिराम शर्मा भण्डारीलाई विद्यालय व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

यसैगरी स्टल बुकिङका लागि रामेश्वर अधिकारी, पर्यटनका लागि कीर्तिवल्लभ त्रिपाठी, स्थानीय समन्वयमा हर्कबहादुर अधिकारी, हरिहर सापकोटालाई पार्किङ, चिन्तामणि बास्तोलालाई ब्यानर, तारानाथ ढुंगानालाई कृषि, हरिराज पन्तलाई मञ्च, तथा वस्तुगत संघ समन्वय, श्रीप्रसाद घलेलाई खानेपानी–वातावरण तथा सरसफाई र सुरेशबहादुर श्रेष्ठलाई द्योग व्यवस्थापनको जिम्मेवारी दिइएको संघले जनाएको छ ।

यस्तै, सदस्यहरू एनकुमार साईले यातायात, रामबहादुर केसीले स्वास्थ्य, देवेन्द्र केसीले उपहार र शिवराज आचार्यले विद्युत तथा टेलिफोन व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।