ताजा समाचार

कार्तिक २२ गते २०७६

अबैध रुपमा पोखरा बस्ने नेदरल्यान्ड्स नागरिक पक्राउ

अबैध रुपमा पोखरा बस्ने नेदरल्यान्ड्स नागरिक पक्राउ परेका छन् । कास्की जिल्ला फुटबल संघको जुनियर टोलीलाई प्रशिक्षण दिएका नेदरल्यान्ड्सका अमाडेउ कानडिडो डी ओलिभेइरा अवैद्य रुपमा पोखरामा बसोबास गर्दै आएको पाइएपछि पक्राउ परेका हुन् ।

उनी ४ वर्षयता पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा बसोबास गर्दै आएका थिए । चेकजाँचका क्रममा उनीसँग पासपोर्टलगायत कुनै पनि कागजात नभेटिएपछि आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरामा बुझाइएको बताइएको छ ।

प्रहरीले थप अनुसन्धान गरेर दोषी पाइएमा उनलाई डिपोर्ट गरिनेछ र एक वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध हुनेछ ।

नेपालमा पछिल्लो समय विदेशी नागरिक खेलकुदमा संलग्न हुने क्रम बढ्दो छ । विशेषगरी फुटबल र एथलेटिक्समा विना अनुमति खुलेआम विदेशी सहभागिता रहँदै आएको छ ।

यसबारे नियमनकारी निकाय कमजोर हुँदा अनधिकृत रुपमा खेलकुदमा विदेशी नागरिकको संलग्नता बढेको हो ।

खेलकुदलाई माध्यम बनाएर नेपाल पस्दै विभिन्न अपराधिक कार्य गर्ने क्रममा यसअघि एक विदेशी नागरिक पक्राउ पनि परेका थिए ।