ताजा समाचार

कार्तिक २१ गते २०७६

नेपालले ‘होम ग्राउन्ड’ मा खेल्न नपाउने

दशरथ रंगशाला समयमै मर्मत हुन नसकेका कारण नेपालले ‘होम ग्राउन्ड’ मा खेल्नुपर्ने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता विदेशी भूमिमा खेल्ने भएको छ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणको छनोट खेल र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कप फुटबल प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत नेपालको ‘होम ग्राउन्ड’ मा कुवेतविरुद्ध हुने खेल भुटानमा खेलाउने तयारी भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आगामी मंसिर ३ गते नेपाल र कुवेतविरुद्ध नेपालको ‘होम ग्राउन्ड’ मा खेल्नुपर्ने तालिका छ । उक्त खेल काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना गर्न एन्फाले विश्व फुटबल महासंघ (फिफा) र एएफसीलाई प्रस्ताव गरेको थियो ।

एएफसीको प्रतियोगिता समितिका प्रतिनिधि देङ्ग सिओ लोङ्गद्वारा गत मंगलबार दशरथ रंगशाला निरीक्षण गरी आवश्यक अन्तर्राष्ट्रिय मापदण्डअनुसार रंगशाला तयार हुन नसकेको ठहर गरेका थिए । रंगशाला अभावमा एएफसीकै निर्देशनअनुसार नेपाल र कुवेतविरुद्धको खेल नेपालले होम ग्राउन्डमा खेल्न नपाउने भएको हो ।

उक्त खेलका लागि भुटानको चाङ्गलिमिथाङ्ग रंगशाला छनोट गरिएको र यसबारे फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ ।

‘सबै प्रकारको अधिकतम प्रयत्नका बाबजुद भूकम्पबाट पूर्ण क्षतिग्रस्त नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला समयमै पुनर्निर्माण हुन र गराउन नसक्दा उक्त प्रतिष्ठित खेल नेपालमा हुन र गराउन नसकेकोमा सम्पूर्ण नेपाली फुटबल समर्थक, शुभचिन्तक तथा सरोकारवालाहरुमा संघ हार्दिक क्षमायाचना गर्दछ,’ एन्फा प्रवक्ता किरण राईले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।