पोखरा १७ का योजना सार्वजनिक

पोखरा महानगरपालिका वडा नम्बर १७ ले गत आर्थिक वर्षमा सम्पन्न भएका योजना र यो आर्थिक वर्षमा निर्माण हुने योजना सार्वजनिक गरेको छ । बुधबार कार्यक्रम गरी वडाले आर्थिक वर्ष २०७४÷७५ मा १४ करोड ६० लाख ३४ हजार ६ सय २० रुपैयाँ खर्च भएको जनाएको छ ।

आर्थिक वर्ष ०७५÷७६ मा पोखरा १७ मा ४१ करोड ६२ लाख ३ हजार ५ सय ९ रुपैयाँ बजेट खर्च भएको छ । यो वडास्तरीय, महानगर, प्रदेश र संघीय सरकार सबैबाट आएका योजनाको रकम हो । यो आर्थिक वर्ष पोखरा १७ मा वडास्तरीय बजेट १ करोड ४८ लाख ४७ हजार छ । यस्तै संघीय सरकारले पोखरा १७ मा ११ करोड ४० लाखका योजना निर्माण गर्दै छ ।

वडाध्यक्ष तीर्थराज अधिकारीले कतिपय विकासका योजना कार्यान्वयनकै क्रममा रहेको र बाहिर देखिने गरी परिवर्तनको आभास चाडै हुने बताए । सिद्धार्थ राजमार्गको बिरौटा चोकबाट छोरेपाटनसम्म ४ लेनको सडक, ड्यामसाइडमा मोटरेबल पुल, राती खहरे मोटरेबल पुल, सीतापाइला पट्नेरी मोटरेबल पुल, फुस्रेखोला मोटरेबल पुल, डेभिजफल काउसेघारी पुल, माछापुच्छ्रे प्रतिबिम्ब पार्क निर्माण हुँदै छन् । अढाइ वर्षसम्म योजनावद्ध विकास थालेको र केही योजना पूरा भएको बताए । उनले आफ्नो कार्यकाल सहिँदा मुख्य पूर्वाधार निर्माणका काम सकिने उल्लेख गरे ।

पोखरा १७ को क्षेत्रफल १०.६ किमी छ । क्षेत्रफल धेरै भएकाले वडाले ६ भागमा विभाजन गरी विकास, निर्माणका काम गरिएको वडाले जनाएको छ । अध्यक्ष अधिकारीले वडा उज्यालो कार्यक्रम सञ्चालन गर्ने योजना सुनाउँदै सबै वडावासीको सहयोगमा समृद्धिको यात्रामा लाग्ने प्रतिवद्धता गरे ।

नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगानाले जनप्रतिनिधिले गलत गरे पार्टीप्रतिसमेत औंल उठुने भएकाले सहजतापूर्वक काम गर्न आग्रह गरे । उनले सबै तहका सरकारबाट भएका काम, कारवाही सार्वजनिक गरी पारदर्शी बनेर जनतालाई जानकारी दिने कार्य सराहनीय भएको बताए ।

नेपाली कांग्रेस पोखरा १७ सभापति देवराज आचार्यले केही योजनामा डुब्लिकेसन दिएको उल्लेख गर्दै योजनावद्ध, पारदर्शी र मितव्यायी बन्न आग्रह गरे ।

कार्यक्रममा वडा सचिव ईश्वरीप्रसाद पोखरेलले वडाको अवस्था, जनशक्ति, सिफारिस र राजस्व संकलनको तथ्यांक प्रस्तुत गरेका थिए ।