ताजा समाचार

कार्तिक २० गते २०७६

सरकारी कोटामा पढेका डाक्टरलाई सर्वोच्च अदालतको यस्तो नत्थी

सर्वोच्च अदालतले सरकारी कोटामा एमबिबिएस पढेका डाक्टरहरूलाई २ वर्षमात्र सरकारी अस्पतालमा सेवा गर्न लगाउन आदेश दिएको छ।

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा सरकारी कोटामा एमबिबिएस पढेकाहरूका लागि ४ वर्ष सेवा गर्नुपर्ने व्यवस्था थियो।

उक्त व्यवस्था खारेज गर्न माग गर्दै डाक्टर उज्वल पौडेल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उनको रिटमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश बमकुमार श्रेष्ठले यसअघिको सर्वोच्च अदालतकै फैसलालाई आधार मान्दै २ वर्षमात्र सेवा गरे पुग्ने गरी अन्तरिम आदेश गरेको सर्वोच्चका प्रवक्ता देवेन्द्र ढकालले बताए।

सर्वोच्च अदालतले २०७३ साल भदौ ५ गते सरकारी कोटामा पढेका विद्यार्थीले २ वर्ष सरकारी अस्पतालमै सेवा गर्नुपर्ने गरी फैसला गरेको थियो।

शिक्षा मन्त्रालय आफूले छात्रवृत्ति दिएर पढाएका विद्यार्थीलाई २ वर्ष सेवा गरे पुग्ने नियम बनाएको छ।

आफूहरूका हकमा पनि त्यही लागू हुनुपर्ने पौडेल लगायतको माग थियो।