ताजा समाचार

कार्तिक २० गते २०७६

भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने

भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् । सचिन युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन् ।

युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने लगभग पक्का भएको स्रोतले दाबी गरेको छ । १६ तारिखमा सम्भव नभएमा २० वा २२ तारिख आउने गरी कुराकानी भइरहेको छ ।

उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन् । स्रोतका अनुसार सचिन त्यही दिन भारत फर्कने कार्यक्रम छ ।

सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए । त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए ।

विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा हुने छैनन् । यो बीचमा नेपालले बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स कपमा सहभागिता जनाउँदैछ ।

यस्तै, नेपालका पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने यही समयमा टी–२० खेल्न युएई जाँदैछन् । पारस नोभेम्बर ११ र सन्दीप नोभेम्बर १२ मा युएई जाँदैछन् ।

पारसलाई नेपाल सरकारले पोषण तथा खाद्य सुरक्षाको सद्भावना दूत नियुक्त गरेको थियोे ।

युनिसेफले पारस र सचिनलाई एउटै मञ्चमा राखेर कार्यक्रम गर्न चाहे पनि टी–१० लिगका कारण सम्भव नहुने भएको छ ।

यसअघि २०६९ असार १ मा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी नेपाल आएका थिए । २ दिने भ्रमणका दौरान धोनीले केही घन्टा कीर्तिपुरस्थित क्रिकेट मैदानमा बिताएका थिए ।