बाँदर लखेट्दा भरुवा बन्दुक पड्किएर मृत्यु

ओखलढुंगाको मोलुङ गाउँपालिका ३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा सोही गाउँपालिका बस्ने १७ वर्षीय लालमान तामाङको आइतबार मृत्यु भएको छ ।

गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको टोलीले बाँदर लखेट्ने समूहका मोलुङ ३ बस्ने चित्रबहादुर सुनुवारलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

समूहका अन्यको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।