मेरीलेबन क्रिकेट क्लब (एमसीसी) ले दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमसंग हार बेहोरेको छ । पहिलो खेलमा एमसीसीले नेपाली यु–१९ टिमलाई ३८ रनले पराजित गरेको थियो ।
टियु मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग रोजेको एमसीसीले ३९.५ ओभरमा सबै विकेट गुमाएर २०१ रनको योगफल तयार गर्दै नेपाललाई २०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले निर्धारित लक्ष्य ३७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
लक्ष्य पछ्याउने क्रममा १ समय १३६/५ को अवस्थामा रहेको नेपाललाई त्यसपछि बिनोद भण्डारी र पवन सर्राफले अविजित साझेदारी गर्दै जितसम्म पुर्याए । दुवैले छैठौं विकेटका लागि ७० रनको साझेदारी गरे । बिनोदले यस अघि आरिफ शेखसंग ५४ रनको साझेदारी गरेका थिए ।

बिनोदले ६४ बलमा ३ चौका र २ छक्का मदतले अविजित ५२ तथा पवनले २५ बलमा ४ चौका र २ छक्का मदतले अविजित ३८ रन बनाए । यस अघि शरद भेसावकर २४, आरिफ शेखले २३, दिपेन्द्र ऐरि २३, ज्ञानेन्द्र मल्ल १० तथा इशान पाण्डे ४ रन बनाएर आउट भएका थिए ।
एमसीसीको बलिङ्गमा पुर्व पाकिस्तान क्रिकेटर समेत रहेका यासिर अराफातले सर्वाधिक ३ विकेट लिए । यस्तै एलेक्स थोम्पसनले २ विकेट लिए । यस अघि पहिले ब्याटिंग गर्ने क्रममा एमसीसीले राम्रो सुरुवात गरेता पनि २०१ रन मात्रै बनाउन सकेको थियो ।
एमसीसीको लागि ओपनरद्वय विल रोड्सले सर्वाधिक ५४ तथा बिल्ली गडलेमेनले ५२ रन बनाए । दुवैले पहिलो विकेटका लागि १०.४ ओभरमा ७३ रनको साझेदारी गरे । गडलेमेनले पहिलो विकेटको रुपमा आउट हुनु अघि मात्र ३८ बलमा ८ चौका र २ छक्का प्रहार गरे । रोड्सले ७१ बलमा ५ चौका प्रहार गरे ।

१९ औं ओभरमा टम वेस्ट्लेलाई बोल्ड गर्दै तेश्रो विकेट ललित राजबंशीले दिलाएपछि एमसीसीले ठुलो साझेदारी बनाउन सकेन र लगातार जसो विकेट गुमाउन पुग्यो । चौथो नम्बरमा ब्याटिंग गरेको विल भान्डरस्परले ३६ रन बनाउनु बाहेक मध्ये क्रमका र तल्लो क्रमका ब्याट्सम्यानहरुले उल्लेख्य योगदान दिन सकेनन् ।
एक समय १०७/२ को अवस्थामा रहेको एमसीसीले १७९÷६ को अवस्थामा पुग्यो जहाँबाट विकेट जाने क्रम रोकिन सकेन र टिम ३९.५ ओभरमा २०१ रनमै समेटिन पुग्यो ।
नेपालको बलिङ्गमा देब्रे हाते स्पिनर ललित राजबंशी र अफ स्पिनर पवन सर्राफले ४/४ विकेट लिए । राजबंशीले १० ओभरमा १ मेडन ओभर सहित ४० रन तथा सर्राफले ८ ओभरमा १ मेडन गर्दै ३१ रन खर्चिए । करन केसी र अविनाश बोहराले समान १/१ विकेट लिए ।
खेलमा यस अघि घोषित टोलिमा रहेता पनि पारस खड्का र सन्दिप लामिछानेले भने खेलेनन् । नखेल्नुको कारण बारे थाहा भएको छैन ।

पारस ५० ओभर टिममा मात्रै रहेका थिए भने सन्दिप ५० ओभर, ३ दिवसीय र टि–२० को लागि पनि टिममा रहेका थिए । टुर अन्तर्गत अब एमसीसीले बुधबार देखि नेपाली सिनियर टिमसंग ३ दिवसीय प्रथम श्रेणी खेल खेल्नेछ ।




