कर्मचारीसँग ‘डेटिङ’ जाँदा जागिरबाटै निकालिए

अमेरिकाको विश्व चर्चित फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी अधिकृत स्टीभ इस्टरब्रुकलाई कम्पनीले जागिरबाट निष्कासन गरेको छ ।

कम्पनीको कर्मचारीसँग ‘डेटिङ’ गएपछि इस्टरब्रुकलाई पदबाट निष्कासन गरिएको हो।

सिइओ इस्टरब्रुक र महिला कर्मचारीबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले कम्पनीको नीति उल्लङ्घन गरेको र कमजोर निर्णय क्षमता देखाएको कम्पनीले ठहर गरेको छ।

कम्पनीले जागिरबाट हटाएसँगै इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको बताएका छन्।

उनले कम्पनीको मूल्यमान्यतालाई ध्यानमा राख्दै आफूले जागिर छाड्ने प्रतिक्रिया जनाएका छन्। ५२ वर्षीय ब्रिटिश नागरिक इस्टरब्रुकले श्रीमतीसँग भने सम्बन्ध विच्छेद गरिसकेका छन् ।