कांग्रेसका उम्मेदवार छनोट मंगलबार मात्रै

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै नबसी स्थगित भएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवार छनोटका लागि बोलाइएको पदाधिकारी बैठक बस्दै नबसी स्थगित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

 उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कोषध्यक्ष सीतादेवी यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको उनले भनाइ छ ।

अनका अनुसार उनीहरु छठ पर्वका मनाउन गृहजिल्ला गएका  कारण आजको बैठकमा उपस्थित हुन नसकेका हुन् । सभापति शेरबहादुर देउवा निवास बूठानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो ।

 फेरि उम्मेदवार छनोटका लागि  मंगलबार बिहान ९ बजे देउवा निवासमा पदाधिकारी बैठक बोलाइएको छ ।

सोमबार सभापति देउवासहितका नेताहरु सिन्धुपाल्चोकको सुकेटरमा जाने कार्यक्रम रहेको छ । बैठकअघि एक चरण सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य र पार्टी पदाधिकारीबीच छलफल  पनि हुने छ । 

यता निर्वाचन आयोगले प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा उम्मेदवार मनोनयन गर्न कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ  ।