ताजा समाचार

कार्तिक १७ गते २०७६

उपनिर्वाचन जिते पार्टीभित्रको समस्या आफै समाधान : देउवा

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन्।

उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि कांग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए ।

चितवनमा आयोजित कार्यकर्ता भेलामा उनले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको बताए ।

पार्टीभित्रको आन्तरिक कलहका विषयमा कार्यकर्ताको जिज्ञासापछि सभापति देउवाले भने “उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस् पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।”

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र कांग्रेस दुई पार्टी जस्तो भएका कारण हार बेहोर्नु परेको भन्दै उनले उपनिर्वाचनमा यस्तो भए कारवाही गर्ने चेतावनी दिए ।

अहिलेको निर्वाचन सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नु पर्ने समयमा कांग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको सभापति देउवाले बताए ।

स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको बताउँदै उनले सङ्घ र प्रदेशमा हुने निर्वाचनका लागि आज साँझ बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाउने बताए ।

उम्मेदवार छान्दा जनतामाझ लोकप्रिय नेतालाई उम्मेदवार बनाउने उनको दाबी थियो । कांग्रेसको जनमत अहिले पनि नघटेको बताउँदै उनले जनमतको कदर हुने गरी काम गर्ने विश्वास व्यक्त गरे।

भातृ सङ्गठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने सो अवसरमा उनले जानकारी दिए ।