कास्की-२ : कृष्ण सिटौलाले देवराजको नाम लिएपछि रामचन्द्र सशंकित, यसरी भयो धनराजको चर्चा

आशन्न उपनिर्वाचनको मिति नजिकिंदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । मुलुक पूरा चुनावमय बनेको छ । सबै भन्दा बढी चासो र चर्चामा रहेको कास्की–२ मा चर्को रौनक छ ।

कास्की–२ का लागि नेकपा, समाजवादी र साझा पार्टीले उम्मदवार तोकिसकेका छन् । तर प्रमुख प्रतिपक्षी दल भने अनिर्णित बनेको छ ।

कास्की–२ का कांग्रेसले १६ जनाको नाम सिफारिस गरेपछि केन्द्रमा टाउको दुखाई बनेको छ । सिफारिस भएका १६ जनामध्ये देवराज चालिसे प्रमुख दाबेदार हुन् ।

पार्टीको केन्द्रको गुटको प्रभाव र असर कास्की–२ मा उम्मेदवार चयनमा समस्या भएको बताइन्छ । कास्की–२ वरिष्ठ नेता रामचन्द्र पौडेलको भागमा परेको छ । यस क्षेत्रका लागि प्रमुख दावेदार मानिएका चालिसे पनि पौडेल पक्षकै नेता मानिन्छन् ।

यसैबीच नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले देवराज चालिसे उम्मेदवार हुनुपर्ने बताएपछि वरिष्ठ नेता पौडेल सशंकित बनेको समाचार प्राप्त भएको छ ।

देवराज पौडेल खेमाका नेता हुन् । सिटौलाले देवराजको नाम लिएपछि देवराजले समीकरण बदलेको हो कि भन्ने आशंका गर्दै पौडेल सशंकित बनेको बताइन्छ । यही कारणले कास्की–२ मा उम्मेदवार चयनमा ढिलाइ भएको स्रोत बताउँछ ।

स्रोतका अनुसार नेता सिटौलाका साथै सभापति शेरबहादुर देउवा र महामन्त्री सशांक कोइराला पनि देवराजलाई नै उम्मेदवार बनाउने पक्षमा छन् ।

देवराजलाई उम्मेदवार बनाउन पौडेलले आशंका गरेपछि सभापति देउवाले धनराज गुरुङलाई उम्मेदवार बनाउन प्रस्ताव गरेको स्रोत बताउँछ । यही कारणले यतिबेला कास्की–२ मा धनराज गुरुङको नाम बढी चर्चामा आएको बताइन्छ ।