बामदेव गौतमलाई उपाध्यक्ष बनाउन नेकपाभित्र यस्तो तयारी

वामदेव गौतमलाई वैधानिक रुपमा उपाध्यक्ष बनाउन नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बस्दैछ ।

आगामी साता स्थायी समितिको बैठक राखेर विधान संशोधन गरी गौतमलाई उपाध्यक्ष बनाउने अन्तिम तयारी भएको बताइन्छ ।

साउन ३१ गते बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसयता यस विषयमा कुनै छलफल भएको थिएन ।

स्थायी समिति बैठकले विधान संशोधन गरेपछि सचिवालयको त्यो निर्णय अनुमोदन गर्नेछ । महासचिव विष्णु पौडेलले स्थायी समिति बस्ने तयारी भएको बताए ।

‘स्थायी समिति बैठक चाँडै बस्दैछ तर, मिति भने निश्चित भैसकेको छैन’, महासचिव पौडेलले भने ।

उपाध्यक्षमा नियुक्ति हुन ढिलाई भएपछि गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतसँग भेटेर असन्तुष्टि पोख्न सुरु गरेका थिए ।

प्रचण्ड, नेपाल र गौतमबीच भाइटिकाको दिन प्रचण्ड निवास खुमलटारमा भेटघाट भएको थियो । यसैगरी गत बुधबार पनि प्रचण्ड र गौतमबीच छुट्टै भेट भएको थियो ।

अहिले ९ सदस्यीय सचिवालय रहेको नेकपाका २ अध्यक्ष र १ महासचिव पदको मात्र व्यवस्था गरिएको छ । उपाध्यक्ष थपिएपछि ४ पदाधिकारी हुनेछन् ।