ताजा समाचार

कार्तिक १७ गते २०७६

उच्च मनोबलका साथ चुनावमा खटौं : सभापति केसी

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले उच्च मनोवलका साथ चुनावमा खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले पार्टीभित्र समस्या, तिक्तता जे भए पनि थाती राखेर कांग्रेसका उम्मेदवारलाई जिताउन लागिपर्ने निर्देशन दिए ।

कांग्रेस पोखरा–४ कमिटीले आयोजना गरेको चुनाव लक्षित अन्तरक्रियामा सभापति केसीले भने, ‘रिस, चिन्ता, कुण्ठा, घमण्ड र अहंमतालाई थाती राखौं, ४ तारा र रुख चिन्ह बोकेर आउने उम्मेदवारलाई एकढिक्का भएर सघाऔं ।’

उनले विपिको जस्तो छाती बनाएर सक्रिय हुन आग्रह गर्दै आन्तरिक रुपमा पार्टीभित्र जे कमजोरी भए पनि चुनावमा नदेखाउन निर्देशन दिए ।

कांग्रेस यतिबेला व्यवस्था जोगाउन लागिपरेको उनले स्पष्ट पारे । ‘कम्युनिष्ट व्यवस्था परिवर्तनको प्रयासमा छन्, कांग्रेस संरक्षणमा लागेको छ त्यही भएर कांग्रेस प्रतिपक्ष दल भएर पनि कमजोरजस्तो देखिएको हो, पार्टी कमजोर भएको होइन’, उनले भने ।

नेपालका कम्युनिष्ट क्युवाको मोडलमा जान खोजिरहेको भन्दै सभापति केसीले भने, ‘क्युवामा अदालत लगायतका सबै संवैधानिक निकाय ध्वस्त बनाएर शासन गरिएको छ, नेपालमा पनि त्यस्तै गर्न खोजिंदैछ । नेपाली कांग्रेस लोकतन्त्र बचाउँन र कम्युनिष्टलाई क्युवा बनाउन नदिन लागिपरेको छ ।’

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आशन्न चुनावमा कम्युनिष्टले भ्रम छरेर जनता अल्मल्याउन सक्ने भएकाले त्यसतर्फ कांग्रेसले ध्यान दिनुपर्ने बताए ।

उनले कम्युनिष्ट सरकारको पालामा भएका भ्रष्टाचारका साथै अन्यायपूर्ण व्यवहारबारे जनतालाई राम्रोसंग बुझाउन आग्रह गरे ।

साथै विगतको चुनावमा भएका कमजोरीलाई सुधार गरेर अघि बढ्न सके चुनाव जित्न सहज हुने उनको विश्वास छ ।

कास्की–२ (ख) का सभापति दीपेन्द्र मर्सानीले कसैले सत्ता र भत्ता पाउन कांग्रेसमा नलागेको बताए । उनले कांग्रेसका सबै नेता कार्यकर्ताले आआफ्नो कमजोरी आत्मसमीक्षा गरी सुधार गर्दै आशन्न चुनावमा खटिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अरुलाई दोषमात्र लगाउने होइन, आफ्ना पनि कमजोरी छन् भने सुधार गरौं, अनि एकढिक्का भएर चुनावमा खटिऔं । कांग्रेसका उम्मेदवारलाई जिताऔं ।’

पोखरा–४ की जिल्ला प्रतिनिधि तथा कोषाध्यक्ष लक्ष्मी पाण्डेले कम्युनिष्ट सरकारका कारण सबै जनता त्रसित भइरहेको भन्दै जनतालाई भयरहित वातावरण सृजना गर्नका लागि कांग्रेसको जित अपरिहार्य भएको बताइन् ।

सरकार गुण्डागर्दी, भ्रष्टाचार, दलाल, बलात्कारी बचाउन उद्धत रहेको भन्दै त्यसको भण्डारफोर गरेर जनतालाई बुझाउनुपर्ने उनले खाँचो औंल्याइन् ।

क्षेत्रीय प्रतिनिधि राजेन्द्रनीधि कोइरालाले पार्टी र जनताबीचको सम्बन्ध प्रगाढ बनाउन सबैले प्रयत्न गर्नुपर्ने खाँचो औंल्याए । साथै उनले कार्यकर्तालाई क्रियाशील जागरुक बनाउन पार्टीले भूमिका खेल्नुपर्ने सुझाव दिए ।

नेविसंघ नेता देवकृष्ण पराजुलीले व्यक्तिका कारण पार्टी कमजोर बनाउन नहुने बताए । उनले आशन्न चुनावमा व्यक्तिको मुख होइन, रुख चिन्ह हेरेर भोट हाल्न र ४ चारे झण्डा हेरेर सहयोग गर्न आग्रह गरे ।

वडासभापति गोविन्द पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा क्रियाशील सदस्य शंकरप्रसाद कोइराला र सचिव गायत्री पराजुलीले पनि बोलेका थिए ।